Shittalpati
विश्व दृष्टि दिवसको सन्दर्भ

आज अक्टोवर १२ तारिख अर्थात् विश्व दृष्टि दिवस । उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे चेतना फैलाउने उद्देश्यले विश्वभर यो दिवस मनाइँदैछ । ‘काममा तपाईंको आँखालाई माया गर्नुहोस्’ भन्ने नाराका साथ यस वर्षको दिवस मनाइँदैछ । दृष्टिका बारेमा आम मानिसमा जानकारी गराउनु र अन्धोपन हुनबाट बचाउन दिवस महत्वपूर्ण रहेको छ । पछिल्लो समय आँखाको स्वास्थ्य उपचार विश्वका लागि चुनौतीका रुपमा देखा पर्दै गएको बेला दिवसले केही हदसम्म भएपनि समाधान गर्ने विश्वास गर्न सकिन्छ । दिवसमा विश्वभरिका विभिन्न संघ–संस्थाले सरकार, संस्था र व्यक्तिलाई विश्वव्यापी रुपमा परिचालित अन्धोपन निवारण कार्यक्रममा सहकार्य गर्न प्रोत्साहित गरेको छ । विगत तीन दशकदेखि नेपालको आँखा स्वास्थ्य सेवामा गैरसरकारी संस्थाहरुको सहभागिताले यस क्षेत्रको प्रगति तुलनात्मक रुपमा अग्र पंक्तिमा छ । यद्यपि, प्राथमिक आँखा उपचार सेवालाई ग्रामीण समुदायसम्म अझ प्रभावकारी बनाउन जिल्लामा आँखा स्वास्थ्य सेवा कार्यक्रमसँग सम्बन्धित सबै सरोकारवालाबीच समन्वय गराउँदै एकीकृत स्वास्थ्य सेवा प्रणालीमा जोड दिनु विश्व दृष्टि दिवसको पहिलो प्राथमिकता हो ।

वास्तवमा शरीरका अंगमध्ये सबैभन्दा महत्वपूर्ण अंग आँखा हो । यसको स्याहार सुसार गरिएन भने आँखा सम्बन्धी विभिन्न रोग लाग्ने गर्दछ । आँखालाई स्वस्थ राख्नको लागि हरियो सागसब्जी, मेवा, गाजर, फर्सी, ब्रोकाउली जस्ता भिटामिनयुक्त तरकारी तथा फलफूल नियमित सेवन गर्न चिकित्सकहरुले सल्लाह सुझाव दिने गरेका छन् । समयमै आँखा उपचारको बारेमा जागरुकता ल्याउन सक्ने हो भने ठूलो जनसंख्या अन्धोपन हुनबाट जोगिन सक्छ । संसारका कुनै पनि व्यक्ति दृष्टिविहीन हुन नपरोस् र उपचार नहुने गरी दृष्टि कमजोर भएकाले यथाशाक्य बाँकी दृष्टि प्रयोग गरुन् र जीवनको गुणस्तर कायम राख्न सकुन भन्ने अभिप्राय समेत यस दिवसको हो । तसर्थ समयमै आँखा रोगको उपचार गरेर जीवनलाई अन्धकारमय हुनबाट जोगाउन सकियो भने मात्र दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update