Shittalpati
मानसिक रुपमा स्वस्थ रहन सकारात्मक साेंचौ

हरेक वर्ष अक्टोबर १० मा ‘विश्व मानसिक स्वास्थ्य दिवस’ मनाउने गरिएको छ । दिवसले मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने काम गरेको छ । विश्व स्वास्थ्य संगठनको आवद्धता हुने मानसिक स्वास्थ्य दिवस नेपालमा पनि मनाउने गरिएको छ । दिवसको यस वर्षको नारा ‘मानसिक स्वास्थ्य मानव अधिकार हो’ भन्ने रहेको छ । सन् १९९२ देखि हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । विश्वमा अहिले मानसिक स्वास्थ्य समस्या बढ्दै गएको छ । बढ्दो बेरोजगारी, अव्यवस्थित जीवनशैली, असफलता, मानसिक तनाव लगायत समस्याले नेपालमा पनि मानसिक रोगीको संख्या हरेक वर्ष बढ्दै गएको देखिन्छ । मानवमा सबैभन्दा बढी हुने मुटु तथा रक्तसञ्चारका रोगपछि दोस्रो बढी हुने रोग उदासीपन (डिप्रेसन) मानसिक समस्या हो । तर, नेपालमा चेतनाको अभावमा जनमानसमा, विद्वान् वर्ग, स्वास्थ्यकर्मी एवं स्वास्थ्यनीति निर्माताले अझै पनि मानसिक स्वास्थ्यलाई न्यून प्राथमिकता दिने, रोगीलाई हेलचेक्य्राइँ र भेदभावपूर्ण व्यवहार गर्ने गरेको पाइन्छ । 

मानसिक रोगसम्बन्धी थुप्रै गलत धारणा र अन्धविश्वास व्याप्त छन् । मानसिक रोग भन्नासाथ मानिसहरू पागलपन भनी अर्थ लगाउँछन् । यसो गरिनु गलत हो । मानसिक रोगीहरुलाई उचित परामर्श र माया दिने हो भने उनीहरु स्वस्थ बन्न सक्छन् । मानवका लागि शारीरिक भन्दा पनि मानसिक स्वास्थ्य धेरै महत्वपूर्ण मानिन्छ । मानिसको शरीर सञ्चालनको लागि समेत मस्तिस्क स्वस्थ हुनु अनिवार्य छ । आजका मानिसहरुमा कम शारीरिक समस्या र धेरै मानसिक समस्या हुने गरेको पाइन्छ । मानसिक रुपमा समस्या भएको कारणले नै हामीहरुमा अन्य स्वास्थ्य समस्याहरु समेत रहेको पाइएको छ । मानसिक रोग मन र मस्तिस्कमा लाग्ने रोग हो । चलायमान मनले नै शरीरलाई सही वा गलत मार्गमा लैजाने गर्दछ । त्यसैले मानसिक रोगको प्रभाव पनि मन र मस्तिस्कमा लाग्ने गर्दछ । मन र मस्तिस्कलाई स्वस्थ राख्न सकारात्मक सोच राख्न आवश्यक छ । धेरै मानिसहरुमा नकारात्मक सोच, अरुसँग तुलना गर्नु, अरुसँग जलन हुनु, कसैको नराम्रो चाहनु, बदलाको भावना राख्नु आदि कारणले नै मानसिक रुपमा कमजोरी भएको हुन्छ । यस्ता सोचाई एवं भावनाले हाम्रो मस्तिस्कमा आवश्यकताभन्दा धेरै विचार उत्पन्न हुने गर्छ । जसले गर्दा दिलको गति बढ्न थाल्छ र हाईपरटेन्सन जस्ता रोगले आक्रमण गर्ने सम्भावना हुन्छ । तसर्थ नकारात्मक गतिबाट टाढा भएर सकारात्मक सोचलाई पश्रय दिनु नै मानसिक रोग लाग्न नदिनु हो । यसतर्फ सबैले ध्यान दिन सकियो भने मात्र मानसिक रुपमा स्वस्थ रहन सकिन्छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update