Shittalpati
हुलाक दिवसको सन्दर्भ

आज विश्व हुलाक दिवस । विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ । विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो । नेपालले भने उक्त संघको सन् १९५६ मा सदस्यता लिएको थियो । सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको हो । सञ्चारको प्रारुपको शुरुवात हुलाकबाट शुरु भएको हो । मुग्लान अथवा शहर गएका परिवारका सदस्यहरुले घरमा र घरकाले उनिहरुसँग कुरा गर्न हुलाकको प्रयोग गर्दथे । हुलाकी अथवा हलकाराहरुको सम्मान गाउँमा बेग्लै हुन्थ्यो । धेरै परसम्म चिठी र खबर पु¥याउन धेरै जना हुलाकीहरुले आफ्नो जीवनकाल नै विताएका छन् । आज उनीहरुको सम्झना गर्ने दिन पनि हो । गाउँघरमा राती बस्दा हुलाकीहरुलाई विशेष ग्राहयता दिइन्थ्यो अनि उनीहरु त्यतिबेलाको समयका रेडियो, टिभी, इन्टरनेट भनेको उनीहरु नै थिए । धेरैजसो मुलुकहरुले आफ्नो हुलाक सेवालाई आधुनिकीरण गरी जनतालाई छिटो र छरितो हुलाक सेवा प्रदान गरिरहेका छन्, तर कमजोर सरकारी संयन्त्रका कारण हुलाक सेवाप्रति आमजनताको विश्वास घटेर गएको छ ।

विगतमा सूचना र सञ्चारको संवाहका रुपमा रहेको हुलाक सेवालाई थप प्रविधि मैत्री बनाउन सकिएन भने हुलाकको सेवा थप संकटमा पर्ने निश्चित छ । प्रविधि र समयको माग अनुसार चल्न नसक्दा नेपालको हुलाक सेवाप्रति सर्वसाधारणको आकर्षण घट्दो छ । हुलाक सेवालाई समय सापेक्षा रुपमा परिमार्जन गर्नु अहिलेको आवश्यकता हो । विश्वमा हुलाकले उच्चस्तरीय सेवा प्रदान गरे पनि नेपालमा आवश्यकतानुसार चल्न नसक्दा सेवा प्रभावकारी हुन नसकेको हो । अहिले हुलाकको काम सरकारी कागजातहरु ओसारपसार गर्ने र केही कुरियर सेवा दिनुमा सीमित बन्न पुगेको छ । यो अत्यन्त दुखको कुरा हो । सरकारले हुलाक सेवालाई थप परिष्कृत र प्रभावकारी बनाउने दिशामा सोच्न जरुरी छ । यसो भयो भने मात्र हुलाक सेवा दिगो र प्रभावकारी बन्न सक्छ । यसर्थ हुलाक दिवसको अवसरमा यसको सेवालाई समेत प्रभावकारी बनाउन सके दिवसले सार्थकता प्राप्त गर्दछ । अन्यथा दिवस औपचारिकतामै सिमित बन्न पुग्दछ ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update