Shittalpati
बालमैत्री गाउँपालिका बन्ने बाटोमा तिनाउ

पाल्पा, जिल्लाको तिनाउ गाउँपालिकाले बालमैत्री पालिका घोषणा गर्ने बाटोमा अगाडि बढेको छ । पालिकाले आगामी ३ बर्ष भित्र  बालमैत्री गाउँपालिका घोषणा गर्ने गरी अगाडि बढेको हो ।

पालिकाले आगामी २०८३ साल भित्र यो अभियानलाई पुरा गर्न सरोकाला निकायहरुलाई एकै स्थानमा राखी कार्ययोजना बनाएर काम शुरु गरेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, ६ वटै वडाका वडा अध्यक्ष, सदस्यहरु, पालिकाका प्रमुख प्रशासकीय अधिकृत, तथा अधिकृतहरु, शिक्षा, स्वास्थ्य, खानेपानी, महिला तथा बालबालिका, पञ्जिकरण शाखा, गाउँपालिका भित्रका सबै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, बाल क्लवहरुको सहभागितामा  बसेको बैठकले २८ वटा कार्ययोजना निर्माण गरी पारित गरेको छ ।

स्थानीय बालमैत्री शासन लागु भएको गाउँपालिका घोषाणा गर्ने २८ बुँदे कार्ययोजना कार्यान्वयन गर्न  गाउँपालिकाले अनुमानित १ करोड १२  लाख २० हजार रुपैयाँ खर्च हुने प्रस्ताव समेत पेश गरेको छ । स्थानीय बालमैत्री शासन लागु भएको पालिका घोषणाको लागि मुख्यगरी बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता, संस्थागत विकासका क्षेत्रमा मुख्य गरी ५१ वटा सूचकहरु पुरा हुनुुपर्ने हुन्छ । गाउँपालिकाले ५ विषयबस्तुका ५१ वटा सुचकहरु पुरा गर्नको लागि २८ बुँदे कार्ययोजना बनाएर काम शुरु गर्न प्रस्ताव गरिएको प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले बताए । कार्ययोजना कार्यान्वयनको आगामी कार्यपालिकाको बैठकबाट पारित गरेर आउँदो कार्तिक महिना देखी नै जनस्तरमा लागु हुने प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए । छलफलमा प्रत्येक महिनाको कार्यायोजना र कार्ययोजनाको काम र बजेट समेत पेश गरिएको छ । बालमैत्री स्थानीय शासन घोषणाको लागि ३ वर्षको लागि १ जना पालिका स्तरीय र ६ जना वडा स्तरीय सहजकर्ता परिचालन गरिने भएको छ । आगामी २०८३ सालभित्र गाउँपालिकालाई स्थानीय बालमैत्री शासन लागुभएको गाउँपालिका घोषणाको लागि २०८० साल असोज २१ गते बाट फिल्डस्तरमै काम शुरु भएको पालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।

२८ वटै कार्ययोजना पुरा गर्न सरोकारवाला जिम्मेवार व्यक्तिलाई सपथ समेत खुवाइएको छ । गाउँपालिकाले स्थानीय बालमैत्री शासनका सरोकार निकाय, व्यक्ति तथा जनप्रतिनिधी, कर्मचारीहरुलाई एकै स्थानमा राखी आ–आफ्नो जिम्मेवारीको विषयमा अभिमुखी छलफल तथा अन्तक्र्रिया गरेकोले तोकिएकै समयमा घोषित कार्यक्रम गरिने पालिका उपाध्यक्ष लालबहादुर थापाले बताए । कार्यक्रममा बाल सहजकर्ता विष्णुप्रसाद चौवेले बालमैत्री शासन अवधारणा, कार्यान्वयन, कामको प्रकृति, अनुगमनको अवस्था, दिगोपन, घोषणाको अवस्था, फरक व्यक्ति फरक जिम्मेवारीको बारेमा जानकारी गराएका थिए । पाल्पाका १० पालिका मध्ये बगनासकाली र रम्भा गाउँपालिकाले स्थानीय बालमैत्री शासन लागु भएको गाउँपालिका घोषणा गरिसकेका छन् । कार्यक्रम स्वास्थ्य शाखाकी सिनियर अहेव रिता कुमारी थापाको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update