Shittalpati
नदीजन्य पदार्थको चोरीनिकासी नियन्त्रणमा गम्भीर बन

पाल्पामा नदीजन्य पदार्थ चोरीनिकासी गर्ने क्रम बढ्दो छ । यहाँका खोला नदीहरुबाट अबैध रुपमा ढुङ्गा, बालुवा, गिट्टीको निरन्तररुपमा चोरीनिकासी भइरहेको छ । कहिले काँही अबैध रुपमा चोरीनिकासी गर्नेहरुलाई  खबरदारी गर्ने गरिएको देखिए पनि यो क्रम भने रोकिएको छैन । खास गरी तिनाउ र कालीगण्डकी क्षेत्रका नदी तथा खोलाहरुमा अत्याधिकरुपमा चोरीनिकासी हुने गरेको छ । तर यसको नियन्त्रणमा स्थानीय सरकारको ध्यान नै छैन । यो अत्यन्तै दुखको कुरा हो । दिनमा भन्दा पनि रातको समयमा अवैध धन्दा हुने गरेको छ । नदीजन्य पदार्थको अबैध रुपमा निकासी हुँदा स्थानीयवासी समेत नराम्रोसँग प्रभावित भएका छन् । केही स्थानीय सरकारले प्रहरीको सहयोग लिएर नदीजन्य पदार्थ निकासी गर्ने केही सवारीसाधनलाई नियन्त्रणमा लिएर जरिवाना नगरेका भने होइनन्, तर त्यो पर्याप्त हुन सकेको छैन् । जसका कारण चोरीका घटनाहरु बढ्दै गएका छन् । नदीजन्य पदार्थको चोरीनिकासीलाई कानुनीरुपमा समेत अवैध मानिएको अवस्थामा खुलेआमरुपमा रुपमा यस्ता कार्य हुँदा समेत ठोस कारवाही हुन नसक्नुले कतै स्थानीय सरकार आफै नै संलग्न त छैन भन्ने आशङ्का  उत्पन्न हुने गरेको छ ।

अनुमति नलिईकन यस्ता कार्य गर्नुले एकातिर राजस्वमा सक्दो क्षति भैरहेको छ भने अर्कोतिर नदी, खोलाहरुको जथाभावी दोहन गर्नाले सुन्दर ठाउँहरु समेत कुरुप देखिन थालेका छन् । स्थानीय तहहरुको जिम्मेवारीमा पर्ने त्यस्ता पदार्थहरुको बिक्री तथा व्यवस्थापन पक्षलाई पालिकाहरुले गम्भीरतापूर्वक लिएको देखिँदैन । नदीजन्य पदार्थको अनुगमनमा जिससको समेत महत्वपूर्ण भूमिका रहनुपर्ने हो तर त्यो हुन सकिरहेको छैन् । जिसस केवल जागिर पचाउने थलोको रुपमा सिमित बन्दै गएको छ । जसले गर्दा चोरीनिकासी गर्नेहरुले थप पश्रय पाइरहेका छन् । यस्ता गतिविधिले स्थानीयवासीले ठूलो मार मात्र खेपेका छैनन्, सरकारको राजश्वमा समेत ह्रास आएको छ । तसर्थ नदीजन्य पदार्थ चोरीनिकासी नियन्त्रणमा सम्बन्धित निकाय गम्भीर बन्न जरुरी छ ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update