Shittalpati
सडक सुरक्षाका लागि सडक छेउछाउका रुख काट्दै रामपुर नगर सरकार

पाल्पा, जिल्लाको रामपुर नगर सरकारले सडक सुुरक्षाका लागि सडक दायाँ–बायाँ रहेका रुख , विरुवा कटानी–छटानी गर्न लागेको छ ।  नगर सरकारले  नगर प्रमुख रमण बहादुर थापाको नेतृत्वमा शनिबारदेखि नगर भित्रका सडकको छेउ–छाउका रुख, विरुवा फडानी गर्ने अभियान सुरु गरेको हो ।

बेझाँड बजारदेखि किसानबारी सम्म र कालिगण्डकी करिडोर अन्तर्गत वडा नं. ५ को मटेरीदेखि वडा नं. ८ को तुरुन्दी खोला पुलसम्मको सडकका दायाँ–बायाँ रहेका रुख ,विरुवा र वुट्यान फडानी गर्न लागिएको नगर सरकारले जनाएको छ ।  सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि सडक दायाँ–बायाँ रहेका रुख,विरुवा र बुट्यानहरु फडानी गर्न लागिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । सडक छेउ–छाउमा रहेका रुख विरुवाले सवारी आवागमन छेकिने र दुर्घटना हुन सक्ने भन्दै यो अभियान थालिएको नगर प्रमुख थापाले बताए । उनले नगरपालिका भित्रका सडकको दायाँ–बायाँ रहेका रुख विरुवा तथा बुुट्यानका कारण सडक दुर्घटना निम्त्याउन सक्ने हुँदा त्यस्ता रुख विरुवा सम्बन्धित व्यक्तिलाई कटानी गर्न अनुरोध समेत गरेका छन् । अगाडिको बाटो नै छेकिने गरी सडकको दायाँ–बायाँ रहेका रुख र बुट्यान सेना , प्रहरी , कर्मचारी र सरोकारवालाहरुको सभागितामा फडानी गरिएको  ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले जानकारी दिए ।

यस्तै ७ का वडा अध्यक्ष दोवराज तिवारीले सडक सुरक्षा र चाडपर्वको समयमा हुने सवारी आवागमनलाई मध्यनजर गर्दै गरिएको कटानी छटानीले दुर्घटना न्यूनिकरणमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । ईलाका प्रहरी कार्यालय रामपुर , सुरक्षा बेस क्याम्प रामपुर , जनप्रतिनिधि , कर्मचारी र अन्य सरोकारवालाहरुको सहभागितामा फडानी तथा सरसफाई गरिएको हो ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update