Shittalpati
पाल्पा अस्पतालमा हाजिर भएको ३ दिनमै  डाक्टरको सरुवा  

तानसेन, हाजिर भएको ३ दिनमै पाल्पा अस्पतालका मेडिकल सुपरिटेन्डन डा. किशोर बञ्जाडेलाई लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले सरुवा गरेको छ । दशौं तहका एम.डि.जि.पि. डा. बञ्जाडेलाई प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनाले गुल्मी जिल्ला अस्पतालमा सरुवा गरेका हुन ।
 

डा. बञ्जाडे पाल्पा अस्पतालमा यही असोज १६ गते हाजिरी भएका थिए भने असोज १८ गते सरुवा गरिएको छ । संघीय सरकार अन्तर्गत रहेका दशौ तहका चिकित्सक बञ्जाडेले पाल्पा अस्पतालमा रमाना लिएर हाजिर हुँदा  प्रदेश स्वास्थ्यमन्त्री  खनालसँग सहकार्य नगरेको भन्दै हाजिर भएको ३ दिनमै सरुवा  गरेको बताइएको छ । तर चिकित्सक बञ्जाडे पाल्पा अस्पतालमा हाजिर हुनको लागि लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयबाट सहमती स्विकृती पत्र लिएर आएको अस्पताल प्रशासनले जनाएको छ ।
पाल्पाको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा स्वास्थ्य बिमा बन्द भएपछी जिल्ला अस्पतालमा विरामीको चाप अत्याधिक भएपछि लामो प्रयास पछी दशौं तहको चिकित्सक पाल्पा आएका हुन् ।

चिकित्सको सरुवाले पाल्पामा हलचल मच्चाएको छ । अस्पताल विकास समितिका अध्यक्ष गुराँश आत्रेयको अगुवाईमा बसेको सर्वदलिय राजनीतिक दलको बैठकले  हाजिर भएको ३ दिनमै गरिएको सरुवा मान्य नभएको बताएका छन् । पाल्पाका सम्पूर्ण राजनीतिक दलहरुले गैरकानुनी रुपमा गरिएको सरुवा पाल्पाली जनतालाई मान्य नभएको यसका लागि आफुहरु सर्घषमा उत्रिन बाध्य नपार्न  प्रदेश सरकारलाई चेतावनी दिएका छन् । 

सबैदलिय बैठकमा सहभागी प्रदेश सभासद विर बहादुर रानाले पाल्पा अस्पताल सुधार गर्न जिल्लाका राजनीतिक दलहरु एक ठाउँमा उभिएको अवस्थामा चिकित्सक सरुवाको  विषयमा मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसँग कुराकानी भएको र सरुवा रोकिनेमा मुख्यमन्त्री चौधरी आफुलाई विश्वस्त बनाएको बताए । सर्वदलिय बैठकमा प्रदेश सांसद खेम बहादुर सारु, जिल्ला समन्य समितिका प्रमुख टंकनाथ खनाल, नेपाली काँग्रेस पाल्पाका उपसभापति झपेन्द्र गहिरे, नेकपा एमालेका सचिव रामजी पोखरेल, नेकपा माओवादी केन्द्रका सचिव मथुरा ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुवँर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, पत्रकार महासंघका जिल्ला अध्यक्ष रेखीराम राना, पत्रकार माधव अर्याल, कृष्ण कार्की, विजय बौडेल अस्पताल विकास समितिका सदस्य शशी श्रेष्ठ लगायतले नियम विपरित गरिएको सरुवा बदर गर्न हरेक किसिमका प्रयासहरु गर्नुपर्नेमा जोड दिएका थिए । 

पाल्पा अस्पतालमा ११ औ तहका चिकित्सकको दरवन्दी रहेको छ । अस्पतालमा कन्सल्टेन्ट चिकित्सक ११ जना, मेडिकल अधिकृत ६ जनाको दरवन्दी रहेपनि हाल कन्सल्टेन्ट २ जना र छात्रबृत्तिमा अध्ययनरत ३ जना मेडिकल अधिकृत कार्यरत रहेको अस्पताल विकास समितिका अध्यक्ष गुराँश आत्रेयले बताए । डा. बञ्जाडेले कपिलबस्तु जिल्लामा कार्यरत रहँदा विरामीको सेवा राम्रो गरेको, अपरेसनको काम शुरु गरेको र अस्पताल सुधार्न निकै मिहिनेत गरी लुम्बिनी प्रदेशमा प्रथम बनाएका थिए ।  मेडिकल सुपरिटेन्डन डा. बञ्जाडे पाल्पा अस्पतालमा हाजिर भएकै अर्काे दिन देखी काममा खटिएका थिए । पाल्पा अस्पतालमा दैनिक ६ सयको संख्यामा विरामी आउने गरेका छन् । 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update