Shittalpati
गुल्मी प्रशासन कार्यसम्पादनमा देशकै उत्कृष्ट

गुल्मी, जिल्ला प्रशासन कार्यालय गुल्मी कार्यसम्पादनमा देशभरबाटै उत्कृष्ट भएको छ । नेपाल सरकार गृह मन्त्रालयले तयार गरेको कार्यसम्पादन सम्झौता मूल्याङ्कनका सुचाकहरुको आधारमा देशका ७७ जिल्लामध्ये गुल्मी उत्कृष्ट भएको हो ।

प्रशासन कार्यालयले पत्रकार सम्मेलन गरेर आफूहरु कार्यसम्पादन मापकका सूचकबाट देशभरमै पहिलो बनेको जनाएको छ । कार्यसम्पादन सम्झौता बमोजिम जिल्ला प्रशासन कार्यालय गुल्मीले ९६.४४ अंकसहित पहिलो स्थान हासिल गरेको  प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए । गुल्मीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा १४ सह–सुचक अंकभार २९ मा २९ नै प्राप्त गरेको छ । शासकीय प्रबन्ध ४० सह–सुचक ४४ अंकभारमा ४१.२ अंक प्राप्त गरेको छ । लागूऔंषध नियन्त्रणमा सह–सुचक ५ अंकभार ५ मा ५ नै अंक प्राप्त गरेको छ । यस्तै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सह–सुचक १० र अंकभार १० मा १० नै प्राप्त गरेको छ । मुअब्जा वितरण तथा विकास सहजिकरण सह–सुचक ४ र अंकभार ५ मा ४.२५ अंक गरी १०० मा ९६.४४ अंक प्राप्त गरी देशमै प्रथम भएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारि हरि प्रसाद गैरेले बताए । गुल्मीले पहिलो त्रैमासिक २४.५ पूर्णाङ्कमा २४.२ नम्बर, दोस्रो त्रैमासिकमा १६.५ पूर्णङ्कमा १६.४ अंक,तेस्रो त्रैमासिकमा १४.५ मा १४.२ र चौथो त्रैमासिकमा ३९.५ मा ३७.४ प्राप्त गरेको गैरेले जानकारी दिए ।

कार्यालयले गुल्मीलाई प्रथम बनाउन सहयोग गर्ने सुरक्षा निकाय, राजनीतिक दल, स्थानीय तह, सञ्चारकर्मी, नागरिक समाज सहित सम्पुर्णमा धन्यवाद ब्यक्त गरेको छ । गुल्मीमा यस अघिका प्रमुख जिल्ला अधिकारीका रुपमा रहेका पुण्यविक्रम पौडेलको कार्यकाल दुई वर्ष नै प्रथम हुन सफल रह्यो । सागरमणी पाठक र अहिलेका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीको नेतृत्वमा रहेको कार्यालय टिमको मेहनतबाट ६ महिने कार्यकालले पनि गुल्मी जिल्ला प्रशासनलाई प्रथम बनाउन योगदान पुर्‍याएको हो । गुल्मी पछि कर्णाली प्रदेशको रुकुम पश्चिम जिल्ला ९६.१३ प्रतिशत अंक ल्याएर दोस्रो बनेको छ । ९६.०० नम्बर ल्याई रुपन्देही जिल्ला प्रशासन तेस्रो भएको छ । ९५.८१ नम्बर ल्याई इलाम चौथो र ९५.३८ नम्बर ल्याई नवलपरासी पुर्व पाँचौ र ९५.१३ नम्बर ल्याई रुकुम पुर्व छैठौँ नम्बरमा परेको छ । डडेलधुरा र काठमाडौं जिल्ला प्रशासन भने क्रमशः सातौँ र आठौँ नम्बरमा परेका छ्न् ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update