Shittalpati
रामपुरमा वडाबाटै मालपोतको राजश्व संकलन हुने

पाल्पा, जिल्लाको रामपुरमा वडा कार्यालयबाटै मालपोतको राजश्व संकलन गरिने भएको छ । रामपुर नगर सरकारले वडा कार्यालय मार्फत मालपोतको राजश्व संकलन गर्न लागेको हो ।  यस अघि वडाबाट विभिन्न सिफारिस र घटना दर्ताको मात्रै राजश्व संकलन हुँदै आएको थियो । अब भने वडा कार्यालयबाट नगरवासीले मालपोतको राजश्व  समेत तिर्न पाउने छन् ।

नगरपालिकाले आगामी मंसिर महिनादेखि नगरका प्रत्येक वडा कार्यालयबाटै मालपोतको राजश्व संकलन गर्ने गरी काम अगाडि बढाएको छ । सोमबार बसेको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । जनताको सेवा सहजताका लागि अब प्रत्येक वडा कार्यालयबाट मालपोतको राजश्व तिर्ने सुविधा दिईने नगर प्रमुख रमणबहादुर थापाले बताए । थोरै राजश्व तिर्नका लागि पनि धेरै समय खर्चेर नगरपालिकाको कार्यालयमा आउनु पर्दा जनतालाई सास्ती भएको भन्दै छिटो सेवाका लागि वडा कार्यालयबाटै सेवा दिने निर्णय गरिएको नगर प्रमुख थापाले बताए । ४०/५० रुपैयाँ मालपोतको राजश्व बुझाउन पनि नगरपालिकाको कार्यालयमा आउनु पर्ने सेवाग्राहीको समस्यालाई मध्यनजर गरी वडा कार्यालयहरुबाटै छिटो र सहज रुपमा सेवा प्रदान गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताए ।

यस्तै रामपुर नगरपालिकामा सञ्चालन हुने नगरस्तरीय योजना मंसिर मसान्त भित्र सम्झौता गरी सक्नु पर्ने निर्णय पनि बैठकले गरेको नगर प्रवक्ता कपिलबहादुर खाँणले जानकारी दिए । उपभोक्ताको हित र गुणस्तरिय रुपमा समयमा योजना सम्पन्न गर्नका लागि मंसिर मसान्त सम्मका लागि सम्झौताको मिति तय गरिएको उनले बताए । असोज मसान्त भित्र हरेक योजनाको उपभोक्ता समिति गठन गर्नु पर्ने र कार्तिक मसान्त भित्र स्टीमेट गरिसक्नु पर्ने पनि निर्णय भएको छ । यस्तै कार्यपालिका बैंठकले चाडपर्वलाई मध्यनजर गर्दै नगरपालिका भित्रका सडकहरु दशैं अगाडि नै मर्मत गर्ने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update