Shittalpati
जेष्ठ नागरिकलाई सम्मान गरौं

आज अक्टोवर १, अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । जेष्ठ नागरिकहरुलाई सम्मान र उनीहरुको सामाजिक सुरक्षासँगै अधिकारमा पुहँच पुर्‍याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाईन्छ । नेपालमा पनि यो दिवस मनाउने गरिएको छ । नेपालको संविधान २०७२ को धारा ४१ मा ‘जेष्ठ नागरिकको हक’ शीर्षकमा ‘जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनेर  उल्लेख गरेको छ तर  त्यसले तोकेका अधिकार र संरक्षण गरेका हकहरु कार्यान्वयन हुन सकेका छैनन् । जसका कारण उनीहरु अहिले पनि सम्मानजनक रुपमा बाँच्न पाएका छैनन् । कुनै न कुनै किसिमबाट अपहेलना र तिरस्कृत हुनुपरेको छ । जेष्ठ नागरिकका लागि न त सरकारले कुनै ठोस नीति र कार्यक्रम बनाउन सकेको छ न त उनीहरुको आधारभूत आवश्यकतालाई कतैबाट सम्बोधन गर्न सकेको छ ।

वृद्धवस्थामा सामाजिक सुरक्षा अभावले कष्टपूर्ण र असुरक्षित जीवनयापन गर्नु नपरोस् भन्ने उद्देश्यले नेपालमा सरकारले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वृद्धभत्ता वितरण गर्दै आएको छ । यो कार्यक्रमले मुलुकका जेष्ठ नागरिकलाई केही हदसम्म आर्थिक राहत प्रदान गरेको छ तर बेला–बेला यसलाई राज्यले आर्थिक बोझ ठानेको छ ।  यो निकै नै दुःखद् कुरा हो । हामीले जेष्ठ नागरिकलाई बोझ होइन बरदानको रूपमा स्विकार्न सक्नुुपर्छ । नेपाली समाजमा अझै पनि जेष्ठ नागरिकहरु अपहेलित हुनु पर्ने अवस्था छ । उनीहरु आफ्नै छोराछोरीहरुबाटै अपहेलित हुनुपर्ने अवस्था आउनु दुखद् हो । मानिस बूढो हुनु अपराध होइन, एक दिन सबै बूढो अवश्य हुन्छ, यो धुव्र सत्य कुरा हो । जेष्ठ नागरिक हुनु भनेको केवल शारीरिक अवस्थाले शिथिल रूपमा रहेको अवस्था मात्र नभएर उनीहरू परम्परागत ज्ञान र अनुभवका स्रोत हुन् । केवल शारीरिक रूपमा जेष्ठ नागरिक अन्यसरह काम गर्न नसक्ने मात्र हुन् । उनीहरू आफ्नो स्वास्थ्य र क्षमता अनुकूलको काम गर्न सक्छन्, त्यसैले उनीहरूको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्न सकिएमा नयाँ पुस्तालाई राम्रो मार्ग निर्देशन प्राप्त गर्ने आधार बन्न सक्छ । यसर्थ जेष्ठ नागरिक दिवसको अवसरमा सबै जेष्ठ नागरिकलाई सम्मान गर्ने बानिको विकास गरौं ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update