Shittalpati
पाल्पामा डेंगी संक्रमणबाट थप एकको मृत्यु

पाल्पा, पाल्पामा डेंगी संक्रमणबाट थप एक जनाको मृत्युु भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार सोमबार माथागढी गाउँपालिका– १ चिदीपानी बुढीकोटका ३५ वर्षीय गोविन्द सारुको  डेंगी संक्रमणबाट मृत्यु भएको हो ।

ती व्यक्तिको तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख गिरीले बताए । सारुलाई असोज ५ गते मिसन अस्पतालमा भर्ना गरिएको थियो । उनलाई डेंगीका साथै स्क्रबटाइफससमेत पोजिटिभ देखिएको प्रमुख गिरीले शितलपाटीलाई जानकारी दिए । केही दिनदेखि ज्वरो आउने, जोर्नी दुख्ने लगायतका समस्याका कारण उनी स्वास्थ्य उपचारका लागि अस्पताल पुगेका थिए ।

जिल्लामा डेंगी संक्रमणबाट यसअघि तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिला साथै स्याङ्जा गल्याङकी एक बालिकाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो । पाल्पामा हाल डेंगीबाट २ सय ८५ जना संक्रमित भइसकेका छन् । जिल्लामा केही समय यता स्क्रबटाइफसका बिरामीसमेत बढेका छन् । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म १ सय ८२ जनामा स्क्रबटाइफस पोजिटिभ देखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले भने आफ्नोतर्फबाट डेंगु नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेको बताएको छ । जनस्वास्थ्यका प्रमुख गिरीले डेंगु एक प्रकारको भाइरल इन्फेक्सन भएकोले पूर्णरुपमा नियन्त्रण नुहने हुँदा आफै सचेत रहन आग्रह गरेका छन् । डेंगुका लार्भाहरुको सर्च एण्ड डिस्ट्रोय गर्ने कार्य पनि भइरहेको उनले बताए । डेंगुको संक्रमण हो होइन पत्ता लगाउनका लागि जिल्लामा किट समेत अभाव रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update