Shittalpati
रामपुर नगरपालिकामा शैक्षिक अन्तर्क्रिया

पाल्पा, रामपुर नगरपालिकाको शिक्षा शाखाको वार्षिक समीक्षा तथा शैक्षिक अन्तर्क्रिया कार्यक्रम भएको छ । नगरको समग्र शैक्षिक अवस्था, विद्यालयको अवस्था, शैक्षिक गुणस्तर, समस्या र चुनौती लगायतको विषयमा समीक्षा गरेको हो । 

कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरको शैक्षिक सुधार र गुणस्तर वृद्धिका लागि सबै लाग्न आवश्यक रहेको बताए । उनले शिक्षक विद्यालय शिक्षाको मेरुदण्ड भएको बताउँदै विद्यालयको शैक्षिक सुधार गर्ने पहिलो जिम्मेवारी शिक्षकको भएको औँल्याए । थापाले शिक्षकको अध्ययपन शैलीमा विद्यालयको शैक्षिक स्तर निर्भर रहने बताए । नगर प्रमुख थापाले विद्यालयमा प्राप्त स्रोत साधनको प्रयोग गरि हरेक विद्यालयको शैक्षिक गुणस्तरवृद्धि गर्न आग्रह गरे । नगर प्रमुख थापाले नगरपालिकाले सञ्चालनमा ल्याएको बुक फ्रि फ्राईडे कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताएका छन् । उनले विद्यालयमा प्राप्त स्रोत र विद्यार्थीको चहानाको आधारमा बुक फ्रि फ्राईडे कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिए । नगर प्रमुख थापाले नगरका हरेक विद्यालयको शैक्षिक सुधारका लागि नगरपालिका प्रतिबद्ध भएर लागेको भन्दै विद्यालयका शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालने गरिने बताए । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले समग्र नगरको शैक्षिक गुणस्तर वृद्धिका लागि सबैसंग समन्व्य गरेर अगाडी बढ्नुपर्ने बताए । उनले अन्य क्षेत्रको विकास भन्दा शैक्षिक क्षेत्रको विकास गर्न सके मात्र अन्य विकासले सार्थकता पाउने उल्लेख गरे । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानले शैक्षिक विकासका लागि विद्यालय सुधारको योजना कार्यक्रम बनाएर जान आवश्यक रहेको बताए । यस्तै रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा १ का अध्यक्ष कपिलबहादुर खाँणले नगरभित्रका विद्यालयको शैक्षिक सुधारका लागि अनुगमनको पक्षमा ध्यान दिन आवश्यक रहेको बताए । 

यस्तै वडा ३ का अध्यक्ष दामोदर पाठकले विद्यालयमा सक्षम नेतृत्व र दक्ष जनशक्ति छनौट गर्नुपर्ने भन्दै हरेक विद्यालयमा अन्तक्र्रिया कार्यक्रम गर्न आवश्यक रहेको बताए । यस्तै वडा ४ का वडा अध्यक्ष रामबहादुर रानाले विद्यालयमा विद्यार्थीको संख्या घट्नुको कारण बारे छलफल गर्नुपर्नेमा जोड दिए । वडा ५ का अध्यक्ष दुर्गाप्रसाद पोखरेलले विद्यालय शैक्षिक सुधारका लागि कम विद्यार्थी भएका विद्यालय मर्ज गर्नुपर्नेमा जोड दिए । यस्तै वडा ७ का अध्यक्ष दोवराज तिवारीले प्राविधिक धारमा सञ्चालन भएका विद्यालय संकटमा रहेकोले यसको व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको बताए । कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रिय प्रतिनिधि सुन्दरप्रसाद देवकोटाले नगर सरकारले लागु गरेको स्थानीय पाठ्यक्रमलाई परिस्कृत गर्दै लैजानु पर्ने बताए । यस्तै गंगा माध्यमिक विद्यालय रामपुरका प्रधानाध्यापक देवराज देवकोटाले विद्यालयको शैक्षिक गुणस्तरवृद्धिका लागि विद्यार्थीको अनुपातमा शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताए । अन्तक्र्रिया कार्यक्रममा सहभागीले सार्वजनिक शिक्षाको रुपान्तरणको लागि १९ बँुदे प्रतिबद्धा पत्रमा हस्ताक्षर समेत गरेका छन् । सहभागिले स्थानीय सरकारले सार्वजनिक शिक्षाको न्यूनतम गुणस्तरको मापदण्ड बनाई कार्यान्वय गर्ने, शिक्षक कर्मचारी, जनप्रतिनिधि तथा सार्वजनिक पद धारण गरेका व्यक्तिका छोरा छोरीहरुलाई सामुदायिक विद्यालयमा अध्ययन गराउन प्रोत्सहान गर्ने, विद्यालय शिक्षामा आवद्ध हुन नसकेका बालबालिका पहिचान गरी विद्यालय सम्म ल्याउने, प्रभावकारी र जिम्मेवारी बोध अनुरुपको अनुगमनका लागि प्रतिबद्ध हुने, नर्स स्वास्थ्य सेवा सहितको बालिका मैत्री विद्यालयका रुपमा विद्यालयलाई रुपान्तरण गर्दै लैजाने, विद्यालयको वार्षिक उत्सव लगायतका कार्यक्रम भड्किलो शैलीमा नगरी मौलिक कला संस्कृतिलाई प्रसय दिई गर्ने र असल संस्कारयुक्त शिक्षालाई व्यवहारमा लागुगर्ने लगायतका प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।

रामपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक सिमादेवि थापाको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रमुख रमणबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । शिक्षा शाखा प्रमुख विकल काफ्लेको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गरेका थिए । रामपुर नगरपालिकाको सभाहलमा भएको अन्तक्र्रिया कार्यक्रममा शिक्षा समितिका सदस्य र वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update