Shittalpati
तानसेन खानेपानीको विशेष साधारण सभा : संशोधित विधान पारित

पाल्पा, तानसेन खानेपानी उपभोक्ता समितिको संशोधित विधान पारित भएको छ । शनिबार  तानसेनमा भएको उपभोक्ता तदर्थ समितिको विशेष साधारण सभाले संशोधित विधान २०८० पारित गरेको हो ।

समितिको विधान २०६२ लाई समयानुकूल परिमार्जन तथा संशोधन गर्नु परेको भन्दै राधेश्याम ज्ञवालीको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिले विधान संशोधनको मस्यौदा साधारण सभामा पेश गरेको थियो । उक्त मौस्यौदा सभाले पारित गरेको हो । विधानमा केही नयाँ कुरा थपिनुको साथै प्राविधिक र शाब्दिक एवं भाषिक विषयलाई सच्याएर समृद्ध बनाइएको संयोजक ज्ञवालीले बताए । विधानलाई समय अनुकुल बनाएको उनले प्रष्ट पारे । संशोधित विधानमा खुला निर्वाचन पद्धति अवलम्वन, समानुपातिक (महिला सहभागीता सुनिश्चित) सहभागिता, धारा जडान गरेका उपभोक्ताहरु साधारण सभामा प्रतिनिधिको रुपमा रहने, सदस्य भएको व्यक्ति समितिको जुनसुकै पदमा बस्न पाउने, वडातहमा २० जना बराबर एक प्रतिनिधि रहने व्यवस्था हटाई सबैलेलाई मतदानको अधिकार सुनिश्चित गरिएको, समितिमा न्यूनतम २५ लाख वा सो भन्दा माथि आर्थिक वा जिन्सी सहयोग गर्ने व्यक्ति वा संस्थालाई मानार्थ सदस्य दिने व्यवस्था गरिएको छ ।

यस्तै फौजदारी अभियोग प्रमाणित भई अदालतबाट दोषी ठहर भएमा, बसाईसराई गरी कार्यक्षेत्र छाडेमा, सदस्यता त्याग गरेमा समितिका पदाधिकारीहरुको पद नरहने व्यवस्था पनि संशोधन विधानमा उल्लेख छ । समितिको निर्वाचन गराउन आवश्यक र विधानलाई समय अनुकल बनाउन विधान संशोधन गरिएको समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए । उनले भने ‘तानसेन नगर सरकारले हामीलाई आवश्यक विधान संशोधन गरेर तत्काल निर्वाचन गराउन र खानेपानी आपूर्तिलाई सहज बनाउन दिएको जिम्मेवारी अनुरुप अगाडि बढेका हौं ।’ सभामा उनले तानसेनको खानेपानीको अवस्थाका बारेमा जानकारी गराउँदै अहिले तदर्थ समिति निर्वाचन गराउन र पानी वितरणलाई सहज बनाउने काममा केन्द्रीत भएको बताए । 

अध्यक्ष श्रेष्ठले भने ‘हामीले मुहानमा खेर गइरहेको पानी व्यवस्थित गर्ने, टुट्फुट पाइपहरु मर्मत गर्ने, गेडबलहरु मर्मत सम्भार गर्ने, विद्युतमा देखिएको समस्या समाधानमा सम्बन्धित निकायसँग पहल गर्ने काम गर्दै आएका छौं ।’ चुहावट पानीलाई व्यवस्थित गरेपछि अहिले पानी वितरणमा सहज भएको उनले बताए । सभामा तानसेन नगरपालिकाकी उप्रमुख प्रतिक्षा सिंजालीले सहज खानेपानी पाउनु नागरिकको अधिकार भएकाले सोही अनुसार काम गर्न समितिलाई आग्रह गरिन् । उनले संशोधित विधानलाई तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता यादव सिं कार्की,  खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाका प्रमुख आवेग हुसेन मियाँ ठकुराई, समितिका पूूर्व अध्यक्ष हरी रायमाझी, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, जेष्ठ नागरिक तथा ढाका उद्यमी पूर्णमाया महर्जन लगायतले तानसेनको खानेपानी व्यवस्थापनमा सबैले चासो र ध्यान जानुपर्ने बताए । 

सभामा उपभोक्ताहरु लिला अर्याल, शम्भु पौड्याल, विनोद घिमिरे, धर्मचन्द्र नेपाल, लक्ष्मण भट्टराई, लक्ष्मण रावल, रमेश न्यौपाने, डुकुलराज ढकाल, सुनिल बूूढाथोकी, टेकनाथ न्यौपाने, मालती पौड्याल, सन्तवीर बराल, लक्ष्मण बस्याल, जीवन पाण्डे, राधादेवी पाण्डे, दिनेश गन्र्धव, जर्नादन पाण्डे लगायतले सुझाव तथा जिज्ञासा राखेका थिए । कार्यक्रममा तानसेनको खानेपानी व्यवस्थापनका लागि २०६२ मा पाल्पा उद्योग वाणिज्य संघले खेलेको भूूमिकाका विषयमा समेत चर्चा गरिएको थियो । समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको अध्यक्षता, कोषाध्यक्ष लालमने अधै पुनको स्वागत, सदस्य राधेश्याम ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो । यस अघिको समितिले निर्वाचन पनि नगर्ने, समितिबाट पारित नियम पनि आफ्नै अनुकुलताको निर्माण गरेर अगाडि बढ्ने चेष्टा गरेपछि १३ असार २०८० को आम उपभोक्ताहरुको भेलाले विघटन गरी तानसेन नगर सरकारले यसको जिम्मा लिनुपर्ने निर्णय गरेको थियो । सो निर्णयको आधारमा नगरपालिकाकाले १९ असारमा श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति निर्माण गरी यथासक्य छिटो निर्वाचन गर्ने जिम्मेवारी तोकेको थियो । तदर्थ समिति बनेसँगै तानसेनमा खानेपानी सहज बन्दै गएको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update