Shittalpati
बालदिवसको सन्दर्भ

हरेक वर्ष भदौं २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ । यस वर्ष पनि आज विभिन्न कार्यक्रमहरु गरी दिवस मनाउन लागिएको छ । बालबालिकाहरुको नाममा मनाइने दिवसलाई बाल दिवस भनिन्छ । बाल दिवस आफैमा एउटा महत्वपूर्ण दिवस हो । पहिले भदौ ४ गते मनाइने गरिएको बाल दिवस लोकतन्त्र आएपछि भदौ २९ मा मनाउन थालिएको हो । सन १९९० मा नेपालले बालअधिकार महासन्धिमा हस्ताक्षर गरेको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको पाइन्छ । बालबालिका प्रकृतिका सुन्दर संरचना हुन, आमाबाबुका सुनौला सपना हुन्, समाज र राष्ट्रका भविष्यका संवाहक पनि हुन् । बालबालिका बिनाको समाज कल्पनासम्म गर्न सकिँदैन । आजका बालबालिका भोलिका आमाबाबुका सहारा र राष्ट्रका कर्णधार हुन् । त्यसैले पनि बालदिवस आफैमा महत्वपूर्ण रहेको छ ।

एकदिन दिवस मनाउँदैमा आमूल परिवर्तन भइहाल्छ भन्ने होइन, तर दिवसहरू मनाइने त्यो एक दिन भनेको सम्बन्धित विषयमा केन्द्रित रहने, भएका प्रयासको समीक्षा गर्ने र नयाँ प्रतिबद्धतासहित कार्यान्वयनमा जाने अवसर हो । सबैलाई घचघच्याउने दिन हो । बालबालिकाले रमाइलो गर्ने, सिर्जनात्मक प्रतिभा देखाउने, खुसी मनाउने, बालबालिकाले आफ्नो अस्तित्व र महत्व महशुस गर्ने दिन पनि हो, बालदिवस । वास्तवमा बालदिवस घर–घरमा, परिवार–परिवारमा मनाइनुपर्ने हो । तर यो अभिभावककै पनि प्राथमिकतामा परिरहेको छैन । यो अत्यन्त दुखको कुरा हो । बालदिवस बालबालिकाका लागि मात्रै होइन, सिंगो राष्ट्रका निम्ति हुनुपर्छ । प्रत्येक जिम्मेवार निकाय र वयस्कले बालबालिकाका निम्ति बालबालिकाका साथमा मनाउनुपर्छ । बालबालिकाप्रतिको जिम्मेवारी हामी सबैमा तीन सय ६५ दिन नै रहनुपर्छ, तर यो एक दिन, विशेष दिनका रूपमा सबैले गम्भीरताका साथ आफूलाई व्यक्तिगत रूपमा र पदीय रूपमा समेत अझ बढी दायित्ववान बनाउन जरुरी छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update