Shittalpati
बुबाप्रति सम्मान

कुशे औंसी अर्थात् आज बुबाको मुख हेर्ने दिन । आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गरिन्छ । आजको दिन बुवाको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र बाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । पितृदिवस भाद्रकृष्ण अमावस्याको दिन हो । अमावस्याको रातका अधिपति पितृ हुन् । मानिसहरूले आफ्ना आमा बाबुहरूको सम्झना खासगरी जीवनको अन्धकारमय रातमैं गर्ने हुँदा अमावस्याका दिनमै ती दुबै दिवसहरू मान्ने गरिआएको हो । पितृ देवो भव भन्ने हाम्रो संस्कृतिले पितालाई देवताको रुपमा लिने चलन छ ।

जन्मदिने आमा, कर्म दिने बुबा शिक्षा दिने गुरु यी सबैको स्थान उच्च छ । पिताको आज्ञा पालना गर्नेले कुनै तीर्थ गरिरहनु पर्दैन भनि शास्त्रहरुले स्पष्ट किटान गरेका छन् । आज दिन बाबुको सम्मान गरिन्छ । यो पर्व आफैमा राम्रो छ । आफूलाई जन्म दिई हुर्काएर, पढाएर सक्षम बनाउने बाबुआमालाई देवता सम्झेर श्रद्धा भक्तिपूर्वक मान्नु र पूज्नु सम्पूर्ण छोराछोरीको मुख्य कर्तव्य पनि हो । पितालाई अरू समयमा वास्ता नगर्ने सन्तानहरू पनि यस दिन मीठा–मीठा खानेकुरा तथा कपडा लिएर बाबुको मुख हेर्न ओइरिन्छन् । यसलाई सकारात्मक रुपमा लिएपनि एक दिन मात्र गरिएको सम्मानले पिताप्रतिको सच्चा सम्मान भने हुन सक्दैन । पिताको सेवा र सम्मान गर्दा जतिको पुण्य कुनै यज्ञबाट सम्भव छैन । बाबुको सम्मान र सेवा गर्दा आफू पनि लोकबाटै सम्मानित भइने र भविष्यमा आफूले पनि आफ्ना सन्तानबाट त्यस्तै सेवा–सम्मान पाइन्छ भन्ने कुरा कुनै पनि सन्तानले विर्सनु हुँदैन । अघिपछि बुबाआमालाई वास्ता नगर्ने र वर्षको एक दिन सम्मान गरेको देखाउन खानेकुरा र लुगाफाटा लिएर भेट्न जाने संस्कार छ, जुन गलत हो । यसो गरिनुहुँदैन । पिता वर्ष भरि नै पुजनीय हुन्छन् । दर्शनीय हुन्छन् । एकदिन मुख हेरेर वा मीठा खानेकुरा खुवाएर सन्तानको कर्तव्य पूरा हुँदैन । यसर्थ बुुवाको सम्मान सधै गर्न सिकौं । जसले गर्दा कुुसे औंसीको सार्थकता रहन्छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update