Shittalpati
बीपी विचार प्रेरणादायी

बीपी कोइराला राजनेता हुन् भन्नेमा नेपाली काँग्रेस मात्र होइन, उनलाई बुझेका, संगत गरेका र पढेका कम्युनिस्ट नेताहरूसमेत सहमत छन् । यस्ता उच्च कोटिका नेताको सम्झना काँग्रेसले यस पटक विशेष ढंगले गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयले बीपी जयन्तीका अवसरमा ‘बीपी साहित्य महोत्सव’ नै सञ्चालन गर्‍यो भने देशभरका जिल्ला समितिहरुले बीपी विचारको संवाद, परिसंवादसँगै अन्य रचनात्मक कार्यक्रम गरी सम्झिए । बीपीको सम्झनाले उनका विचारहरू अहिले पनि समयसापेक्ष नै छन् भन्ने दर्साउँछ । समाजवादप्रति दरिलो आस्थाका कारण बीपी उदारवादी वाम चिन्तक मानिन्छन् । उनको समाजवादमा आर्थिक समानता र राजनीतिमा लोकतान्त्रिक मान्यता समाविष्ट छन् । लोकतान्त्रिक समाजवादको अवधारणा राख्ने बीपी नेपाली समाजमा अझै धेरै वर्ष प्रेरक व्यक्तित्व बनिरहने पक्का छ ।

केही वर्षहरूमा बीपी जयन्ती, स्मृति दिवस र मेलामिलाप कार्यक्रमहरु कर्मकाण्डी हुँदै गएको जस्तो देखिए पनि यस्ता कार्यक्रमले काँग्रेससँग बीपीलाई जोडेर राख्छ । यो स्वभाविक हो । बीपी विचारप्रति काँग्रेसजनहरूको चासो हुने नै भयो तर कांग्रेसमा आस्था नभएकाहरुमा पनि यसमा चासो पलाएको छ । बीपी जस्तो प्रतिभा सम्पूर्ण नेपालीको धरोहर हो भन्ने बुझाउन समय लाग्ला तर उनका विचार र कृति दीर्घकालसम्म सबैका लागि विचारणीय हुनेमा सन्देह छैन । राष्ट्रियता, लोकतन्त्र र समाजवादको प्रथम नेपाली भाष्यकारका रूपमा बीपीको योगदान सदा स्मरणीय र प्रेरणदायी बनेको छ । उनको विचार, सिद्धान्त र उनले छोडेका राजनीतिक तथा साहित्यिक लेखनले कुनै न कुनै रूपमा नेपाली समाज प्रभावित भइरहेको छ । अहिलेको सन्दर्भमा समेत बीपीको विचार उत्तिकै सान्दर्भिक बनेको छ । काँग्रेसले बीपीलाई औपचारिक रुपमा सम्झ्ने मात्र होइन उनको विचारलाई आत्मसाथ गर्दै पार्टीलाई सोही दिशामा हिडाउनु अहिलेको आवश्यकता हो । यसर्थ बीपीको विचार प्रेरणाबाट बाटो नबिराइ अगाडि बढे मात्र राष्ट्रको हित भई काँग्रेस पार्टी अगाडि बढ्नेछ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update