Shittalpati
‘आर्थिकस्तर उकास्न सके मात्र सहकारीको सार्थकता’

इमान सिं राना
पाल्पा (रामपुर) । प्रदेश पाँचका प्रदेश सांसद एवं नेपाली काँग्रेस पाल्पाका सभापति वीर बहादुर रानाले महिला सशक्तिकरणसँगै शेयर सदस्यहरुको आर्थिकस्तर माथि उकास्न सके मात्र सहकारीले सार्थक रुप प्राप्त गर्ने बताएका छन् ।

सुरक्षा बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुरको सातौं साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै रानाले सहकारीहरुलाई उत्पादनसँग जोड्न सके शेयर सदस्यहरुको भविष्य सुनिश्चित हुने उल्लेख गरे । उनले भने, ‘केवल ऋण प्रवाह र बचतले मात्रै पुग्दैन । आज हामी आर्थिक रुपमा सक्षम हुनका लागि बाटोहरु तय गर्नुपर्छ । सहकारीहरुलाई उत्पादनसँग जोड्न सके मात्र शेयर सदस्यहरुको जीवनस्तरमा दिगो सुधार आउन सक्छ ।’ देशको व्यवस्थामा आमूल परिवर्तन आएपनि नागरिकको अवस्थामा अझै सुधार हुन नसकेको भन्दै रानाले आर्थिक विकासका लागि सहकारीहरुको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले नगर भित्रका सहकारीहरुलाई व्यवस्थित बनाउन नगरपालिका लागि रहेको बताइन् । नेपाली काँग्रेसका जिल्ला उपसभापति देवराज ढकाल, नेपाली काँग्रेसका महासमिति सदस्य दानबहादुर पछाई, रामपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक एवं रामपुर ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने, वडा ५ का वडा अध्यक्ष हिमाल मल्ल, वडा ४ का वडा अध्यक्ष एकबहादुर नेपाली, नेपाली काँग्रेस रामपुरका नगर सभापति नेत्रप्रसाद भट्टराई, शेयर सदस्य बुद्धिप्रकाश रेग्मी र गिरमान श्रेष्ठ लगायतले स्थानीय पूँजीको संकलन गरी स्थानीयस्तरमा लगानी गर्ने एउटा माध्यम सहकारी भएको बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष लेखनाथ रेग्मीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा असल नियमित बचत कर्ता पूर्णिमा आले, असल बचत कर्ता गिरमान श्रेष्ठ, असल बाल बचत कर्ता नेहा बानु खातुन, असल ऋणी मायादेवी अधिकारी, जेष्ठ सदस्य लोकबहादुर खाँण, एसइई २०७४ मा उत्कृष्ट हुन सफल पारस गौतम र २०७५ को एसईईमा उत्कृष्ट हुन सफल माधुरी अधिकारीलाई सम्मान गरिएको थियो । त्यस्तै शेयर सदस्यहरु श्रीमान गाहा र दाताराम कामी मरणोपरान्त सम्मान गरिएको छ । कार्यक्रम संस्थाका अध्यक्ष लेखनाथ रेग्मीको अध्यक्षता, उपाध्यक्ष जितबहादुर मल्लको स्वागत, सदस्य मनीराज अधिकारीको धन्यवाद र सचिव खिमकान्त बाकाबलको सञ्चालनमा भएको थियो । त्यस्तै अधिवेशनले जितबहादुर मल्लको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मञ्जुर अधिकारी भट्ट, सचिवमा रामबहादुर राना, कोषाध्यक्षमा शालिकराम सिग्देल, सदस्यहरुमा दिलबहादुर सुनार, दिपकराज लम्साल, नारायणप्रसाद रेग्मी, कृष्णबहादुर आले, दिलनारायण श्रेष्ठ रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update