Shittalpati
आत्महत्या रोकथाममा जुटौं

आज सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस । ‘कार्यहरू मार्फत आशाहरू सिर्जना गर्दै’ भन्ने नाराका साथ आज यो दिवस मनाइदैछ । सामान्य अर्थमा आफैंले आफ्नो हत्या गर्नु नै आत्महत्या हो । प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् तर यस किसिमको पीडा नहुँदा पनि मानिसले रिसको आवेगमा आत्महत्या गरेको पाइन्छ । आफैंलाई हानीनोक्सानी गर्ने सोचविचार, आशय, आवेग, प्रयास र त्यसबाट ज्यान जाने अवस्था आफैंमा दुःखद् र विष्मयपूर्ण छ । 

यद्यपि यो समस्या विश्वभरी नै व्याप्त छ । नेपाल आत्महत्याको समस्याको हिसाबले हेर्दा समस्याग्रस्त राष्ट्रमा पर्छ । हिजोआज आत्महत्याका जैविक, मनोसामाजिक तत्वहरु हामीकहाँ बचावट गर्ने किसिमले भन्दापनि आत्महत्यातिर दोह¥याउने हिसाबले बढ्दै गएको पाइन्छ । यो अत्यन्त दुखको कुरा हो । सबैभन्दा धेरै मानिस झुन्डिएर आत्महत्या गरेका छन् । यसरी आत्महत्या गर्नुमा पछिल्लो समय सबै खालका मानसिक तनाव मुख्य कारण मानिएको छ । कोभिड महामारीपछि झन् आत्महत्या घटना बढेका छन् । आर्थिक संकट विकराल बन्दै जाँदा मानिसमा नैराश्यता उत्पन्न हुने गरेकाले आत्महत्या गर्नेको संख्या बढेको हो । केहि गरेर आत्महत्याका विचार आएमा वा प्रयास हुन पुगेमा अन्तरनिहित कारण मानसिक रोग, तनाव र अन्य मनोसामाजिक तत्वहरु केलाएर उपचार र व्यवस्थापन गर्नतिर सबै लाग्नुु अहिलेको आवश्यकता हो ।  

आत्महत्यालाई कानूनी अपराधको रुपमा हेरेर आवश्यक स्वास्थ्य सेवालाई निरुत्साहित गर्दा समस्या ज्यूँका त्यूँ रहने कुरा अब पनि नेपाली समाजले नबुझ्ने हो भने यो समस्या अरु बढी बिकराल बन्ने देखिन्छ । आत्महत्याको रोकथाममा परिवार, समाज, साथी संगीहरुको पनि उत्तिकै भूमिका रहेको हुन्छ । आत्महत्याको जोखिम बढी भएका व्यक्तिसँग मायालु व्यहार गर्ने, उनीहरुको मनको कुरा सुनिदिने, काममा सहयोग गरिदिने, आत्महत्याको लक्षण देखिएमा बेवास्ता नगरी उपचार प्रक्रियामा घरपरिवारका सदस्य तथा साथी भाइहरुले सहयोग गर्नुपर्छ । यसो हुन सक्यो भने पनि केही हदसम्म आत्महत्याका घटनाहरुमा कमी ल्याउन सकिन्छ । यसर्थ यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update