Shittalpati
मानव बेचबिखन नियन्त्रण गर

सरकारले विभिन्न खाडी मुलुकमा महिला कामदार घरेलु कामदारका रुपमा पठाउन रोक लगाए पनि भारतको बाटो हुँदै मानव तस्करीको क्रम झन् बढ्दै गएको छ । यसरी गैरकानूनी रुपमा वैदेशिक रोजगारीमा गएका धेरै नेपाली महिला बिचल्लीमा परेका छन् । पछिल्लो समय गैरकानूनी रुपमा विभिन्न प्रलोभन देखाएर नेपाली चेलीलाई विदेशमा लगी बिचल्ली बनाउने गिरोहको सक्रियता पनि बढ्दै गएको छ । जघन्य सामाजिक अपराधका रुपमा रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सरकार र विभिन्न गैरसरकारी संघसंस्थाले सक्रियता बढाए पनि नियन्त्रण हुन सकेको छैन । यो अत्यन्त दुखको कुरा हो । विगतको समयमा भारतमा लगेर नेपाली चेलीबेटीहरु बेच्ने गरेको क्रम अहिले विस्तारितरुपमा फैलिएर त्यसले विश्वव्यापी रुप लिइसकेको छ । विश्वका हरेक कुनामा बेचबिखनमा परेका नेपालीहरुको संख्या बढ्दोरुपमा देखिनुले समस्यालाई थप बढाइरहेको प्रतित हुन्छ । त्यसमा पनि वैदेशिक रोजगारीको प्रलोभन देखाएर हुने मानव तस्करीको सञ्जाल दिनानुदिन वृद्धि भैरहेको छ । 
अपराधको रुपमा लिइने मानव बेचबिखनका घटनाहरु हरेक दिनजसो समाचारका रुपमा आउँदासमेत त्यसप्रति न सरकारले पर्याप्त ध्यान दिन सकेको छ, न सरोकारवाला निकायको नै त्यसमा ध्यान पुगेको छ । जुन दुर्भाग्य हो । मानव बेचबिखनको मुद्दालाई सम्बोधन गर्न र ओसारपसारलाई समेत नियन्त्रण गर्ने हेतुले ऐन, नियमावली बने पनि कार्यान्वयन पक्ष भने अत्यन्त फितलो रहेको छ । जसका कारण मानवबेचविखनका घटनाले थप प्रश्रय पाइरहेका छन् । सरकारले कडा भन्दा कडा रुपमा मानव बेचबिखनमा संलग्नलाई कानुनी दायरामा लिनै पर्छ । हैन भने यस्ता घटनाहरुले समाजलाई नराम्रोसँग प्रभावित पार्ने निश्चित छ । सुरक्षा निकाय र सरकारको हालको प्रयासले विधिको शाासनप्रति केही आशा जगाएको छ । सरकारको कामप्रति आमनागरिक आशावादी बन्दै गरेको यो समयमा उनीहरूको साथ–सहयोग लिएर मानव बेचबिखनको जालो भत्काउनैपर्छ । यसतर्फ सरकार गम्भीर बन्न जरुरी छ ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update