Shittalpati
तानसेनको भिमसेन रथयात्रा निकालियो   

पाल्पा, तासेनस्थित भिमसेन टोलमा रहेको भिमसेन रथयात्रा निकालिएको छ । यो हरेक वर्ष टक्सारटोलमा रहेको श्री ७ सूर्यविनायक गणेशको रथयात्रा निकालेको भोलिपल्ट निकाल्ने गरिन्छ । तानसेनका नेवार समुदायले विशेष गरी यो मनाउने गर्छन् । यस वर्ष सोमबार रथ निकालिएको हो ।
रथलाई तानसेन नगरपरिक्रम गरी निकालिएको थियो । तानसेनको भिमसेनटोलस्थित भीमसेन मन्दिर परिसरबाट निकालिएको रथ यात्राले तानसेन नगर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो । सो क्रममा भीमसेनको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइएको थियो । नेवार समुदायका मानिससहित अन्य समुदायका व्यक्तिहरुको समेत सहभागिता रहेको थियो । रथ यात्रा गर्दा धेरैजसो नेवार समुदायहरुले आ–आफ्नो घर–घरबाट भगवानलाई पूजा दिएका थिए ।

इतिहास बोकेको भीमसेन रथ यात्राको रौनक भने विस्तारै हराउँदै गएको छ । आधुनिकताका कारण यो रथ यात्रासँगै पाल्पामा मनाइने जात्रा, चाडपर्वको रौनक घटेको हो । जात्रा खर्चिलो भएकाले पनि आर्थिक अभावका कारण पछिल्ला वर्षहरुमा गाई जात्रा, रोपाइँ जात्रा निकाल्ने प्रचलन कम हुँदै गएको छ । जिल्लाको गहनाका रुपमा रहेका यि संस्कृतिहरुको संरक्षणमा कसैको ध्यान जान सकेको छैन । स्थानीय कलासंस्कृतिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएपनि यसतर्फ खासै चासो दिएको देखिदैन । 
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update