Shittalpati
पदीय जिम्मेवारी निर्वाह गरे जनताको अवस्थामा परिवर्तन आउँछ : सांसद राना

पाल्पा, लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री वीरबहादुर रानाले पदीय जिम्मेवारीमा रहेकाले काम गरे मात्रै पनि जनताको अवस्थामा परिवर्तन आउने बताएका छन् । उनले व्यवस्था परिवर्तन  गरे पनि अवस्थामा परिवर्तन हुन नसकेको भन्दै पदीय जिम्मेवारी निर्वाह गरे मात्रै पनि जनताको अवस्थामा परिवर्तन ल्याउन सकिने बताए । नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति समेत रहेका रानाले नेपाली काँग्रेस पाल्पाको प्रदेशसभा २ (ख) को सम्मेलनलाई सम्बोधन गर्दै पदीय भूमिकामा रहेकाहरुले काम गर्न सके अवस्थामा परिवर्तन ल्याउन सकिने धारणा राखेका हुन् ।

‘हामीले व्यवस्था परिवर्तन गरे पनि अवस्था परिवर्तन सोचे जस्तो भएको छैन् । अवस्था परिवर्तनको लागि कर्म गर्न छोड्न हुँदैन’ उनले भने ।  वडातहदेखी नै सबै पदीय जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताहरुले आफ्नो जिम्मेवारी मात्रै पुरा गर्न सकेमात्रै पनि जनताको अवस्थामा परिवर्तन आउने नेता रानाले उल्लेख गरे । उनले जिम्मेवारीलाई कर्म सम्झेर काम गर्न समेत नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।  ‘अरुलाई उपदेश दिनुभन्दा आफ्नो जिम्मेवारीलाई कर्म सम्झेर काम गर्नु पर्छ’ नेता रानाले भने ।

कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका कार्यवाहक सभापति झपेन्द्र गहिरेले वडातहसम्मै पार्टीको प्रशिक्षण कार्यक्रम आयोजना गरिने उल्लेख गर्दै तल्लो तहसम्मै पार्टी पुग्ने गरी काम गरिरहेको बताए ।  लुम्बिनी प्रदेश सदस्य राम कार्कीले पार्टीका नेताहरुले एक अर्कोमा आरोप –पत्यारोप नगरी सबैले स्वमूल्याङ्कन गर्न आवश्यक रहेको धारणा राखे ।

 प्रदेश सम्मेलनमा सचिव शंकर भण्डारीले अहिलेसम्मको पार्टीको क्रियाकलाप र भावी योजना समेटेको कार्यपत्र प्रस्तुत गरेका थिए । भण्डारीले गएको स्थानीयतह निर्वाचन र संघ तथा प्रदेशको निर्वाचनमा गठबन्धनका नेताहरुलाई जिताउन प्रदेशले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै पार्टी गतिशिल अवस्थामा कार्यरत रहेको बताए । ‘बाहिर भनिए जस्तो काँग्रेस गुट र फुटको अवस्थाबाट गुज्रेको छैन्, यो प्रदेशमा हाम्रा उम्मेदवारहरु अरुको तुलनामा धेरै निर्वाचिन भएका छन् । पार्टीको बैठक तथा कार्यक्रमहरु कार्ययोजना अनुसार नै भएका छन्’ कार्यपत्रमा भनिएको छ । जनताको अवस्था परिवर्तन गर्ने खालको क्रियाकलाप, पार्टीका गतिविधी र जनप्रतिनिधिहरुसँगको समन्वयलाई बढाउदै लगिने कार्यपत्रमा उल्लेख छ ।

सम्मेलनमा क्षेत्रीय सभापति मुक्तिराम जि.सी., रैनादेवी छहरा गाउँपालिकाका पूर्व अध्यक्ष राम बहादुर कार्की, रिब्दीकोट गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारी लगायतले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै पार्टीमा निर्वाचन हुनु र हारजित हुनु सामान्य भएको बताए ।  कार्यक्रममा नेपाली काँग्रेस तिनाउका सभापति प्रेम पाण्डेय, रिब्दीकोट का.वा.सभापति चन्द्रमणी पोखरेल र रैनादेवी छहराका सभापति विष्णु पोखरेलले सांगठनिक कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेश सभापति रुक्माङ्गगत भट्टराईको अध्यक्षतामा सम्मेलन भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update