Shittalpati
पाल्पामा पनि फैलियो आँखा पाक्ने प्रकोप

पाल्पा, केही दिनयता  पाल्पासहित देशका अधिकांश जिल्लाहरुमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा यो रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ । प्रायः गर्मी मौसममा बढी फैलिने यो रोगबाट युवायुवती र बालबालिका बढी संक्रमित भएका छन् ।

पाल्पाका अधिकांस अस्पतालहरुमा आँखा पाकेका बिरामीको भीड बढेको अस्पतालहरुले जनाएका छन् । नेपाल नेत्र ज्योति संघ अन्तर्गत पाल्पा लायन्स लाकौल आँखा अस्पताल, रामपुरस्थित कालीगण्डकी आँखा उपचार केन्द्र, रैनादेवी छहरा, तिनाउका आँखा उपचार केन्द्रसहित पाल्पा अस्पताल र लुम्बिनी मेडिकल कलेजमा आँखा पाकेर उपचारका लागि आउने बिरामीको संख्या अत्याधिक रहेको छ । एउटै घरका धेरै व्यक्ति यो रोगबाट संक्रक्रमित भएको पाइएको छ । कसैको रातो आँखा देखिन्छ । कतिपयको आँखा एकदमै चिलाएर सुन्निएको छ । कोही सुतेर उठ्दा आँखामा कचेरा (चिप्रा) परेको बताउँछन् । कोही बिझाएको र दुखेको भन्दै अस्पताल पुग्ने गरेका छन् । अहिले जिल्लाका अधिकासं अस्पतालहरुमा यस्तै दृश्य देखिन्छन् । आँखा रोग विशेषज्ञलाई यो समस्याको उपचार गर्न भ्याइनभ्याइ छ । आँखा पाक्ने रोग पाल्पा मात्र होइन अहिले देशैभर फैलिएको छ । जेठदेखि फैलन थालेको आँखा पाक्ने समस्या पाल्पामामा भने साउन दोस्रो सातादेखि फैलिएको चिकित्सकहरू बताउँछन् । अहिलेसम्म जिल्लामा करिब ६ हजार व्यक्तिहरु आँखा पाक्ने समस्याबाट ग्रसित भएका छन् । यहाँका तानसेन, रम्भा, रामपुर, बगनासकाली, रिब्दीकोट, पूर्वखोला, निस्दी, माथागढी, तिनाउ र रैनादेवी छहराका ग्रामीण क्षेत्रमा आँखा पाकेका विरामीहरु फेला परेका छन् । पाल्पा लायन्स लाकौल आँखा अस्पतालमा मात्र दैनिक जसो एक सय भन्दा बढी आँखा पाक्ने विरामी आउने गरेका छन् । यहाँ साउन १८ गते यता २ हजार १ सय २७ जना आँखा पाकेका विरामीहरुको उपचार भइसेको अस्पतालका नेत्र सहायक मनोज शर्माले जानकारी दिए । उनका अनुसार अस्पताल आउने विरामी मध्ये ६० प्रतिशत आँखा पाकेर आउने गरेका छन् । आँखा पाक्ने समस्याको उपचारका लागि बालबालिका, युवा तथा प्रौढहरू बढी आउने गरेका छन् ।

आँखा पाक्ने रोग लागे आत्तिनु पदैन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आँखा पाक्ने रोग लागे आत्तिनु नपर्ने बताएको छ । मन्त्रालयले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिइ घरमा बसेर उपचार गर्न सबैलाई आग्रह गरेको छ । घरमा आँखाको स्याहार गरे संक्रमण एकदेखि दुई हप्ताभित्रमा निको हुने बताइएको छ । यो रोग संक्रामक भएकाले सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । संक्रक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने, विद्यालय, बजार र संक्रमित व्यक्ति भीडभाडमा हुने ठाउँ/सार्वजनिक स्थानमा नजाने, संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना प्रयोग गर्न नहुने चिकित्सकहरुले बताएका छन् । जथाभावी आँखा नछुने, छुनु परेमा सावुन पानीले राम्ररी हात धुने, आँखालाई चिसोले सेक्ने र सेक्दा आँखा बन्द गरेरमात्रै सेक्ने, आँखा नमिच्ने, प्रशस्त मात्रामा पानी तथा पोषिलो खाना खाने, बाहिर घाममा निस्कँदा कालो चस्माको प्रयोग गर्ने, संक्रमित व्यक्तिले प्रयोग गरेका सामान राम्ररी धोएरमात्रै प्रयोग मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update