Shittalpati
साना करदातालाई सहुलियत, ठूलालाई कडाई

पाल्पा, सरकारले साना करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट) मा सहुलियत दिएको छ भने ठूला करदातालाई केही कडाइ गरेको छ । आन्तरिक राजस्व विभागले कर विवरण दाखिलाको समय परिवर्तन गर्दै साना करदातालाई सहुलियत र ठूलालाई केही कडाइ गरेको हो ।

यसअघि साना करदाताले वार्षिक एक करोडसम्म कारोबारको विवरण मासिकरुपमा बुझाउँदै आएका थिए ।  विभागले कर विवरण दाखिलाको समय परिवर्तन गरेपछि भने अब चार महिनाको समय दिएको छ ।  विभागले एक सूचना जारी गर्दै साना करदातालाई कर सहभागिता लागत र समय दुवै घटाएर सहुलियत दिइएको हो । साना करदाताले अब साउनदेखि कात्तिक सम्मको कर विवरण मङ्सिर २५ गतेभित्र बुझाउन सक्ने छन् । यस्तै, मङ्सिरदेखि फागुनसम्मको विवरण फागुन २५ गतेभित्र र चैतदेखि असारसम्मको कर विवरण साउन २५ गतेभित्र पेश गर्ने सुविधा दिएको छ ।

यद्यपि मासिकरुपमा कर विवरण बुझाउन चाहने करदातालाई सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयमा १५ दिनभित्र जानकारी गराउनसमेत विभागले आग्रह गरेको छ । यस्तै विभागले वार्षिक रुपमा एक करोडभन्दा बढी कारोबार गर्ने ठूला करदातालाई भने केही कडाई गरेको छ । ठूला करदाताले यस अघि द्वैमासिकरुपमा कर विवरण दाखिला गर्दै आएका थिए । विभागले भने अहिले भ्याट विवरण मासिकरुपमा नै बुझाउन आग्रह गर्दै कडाइ गरेको हो । ‘मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २६ मा संशोधन भई साविकमा रहेको इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले चाहेमा विवरण पेश गर्ने अवधि चौमासिक कायम गर्न सक्नेछ भन्ने व्यवस्था खारेज भएको छ’, विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘संशोधित व्यवस्थाअनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएका वार्षिक एक करोडभन्दा बढीको कारोबार भएका इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले २०८० साउनदेखि मासिकरुपमा मूल्य अभिवृद्धि करको विवरण दाखिला गर्नुपर्नेछ ।’

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update