Shittalpati
देशभर डेङ्गु संक्रमण बढ्दै, सतर्कता अपनाउन आग्रह

पाल्पा, देशभरि डेङ्गुको संक्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको संक्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् ।

डेङ्गुको सङ्क्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण तथा सरसफाइमा ध्यान नदिँदा डेङ्गुको संक्रमण बढिरहेको बताए । उनले दैनिक संक्रमण बढिरहेकाले सतर्कता अपनाउनु आग्रह गरे । “दैनिक डेङ्गुको संक्रमण बढिरहेकाले सरसफाई सहित लामखुट्टेबाट बच्न सतर्कता अपनाउनुपर्दछ”, निर्देशक डा.मरासिनीले भने, “डेङ्गु संक्रमण भदौ र असोजमा उच्च हुने जोखिम छ ।” नेपालमा पहिलो पटक सन् २००४ मा डेङ्गुको संक्रमण देखिएको थियो । 

सन् २०२२ मा ५४ हजार सात सय ८४ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए भने यसबाट ८८ जनाको मृत्यु भएको थियो । मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झूल टाँगेरमात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढ·ले पाल्न र घर वरिपरी गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update