Shittalpati
तानसेन करुवा टोलमा ढलान गरिएको गोरेटो बाटोमा डोजर लगाइयो

पाल्पा, तानसेन नगरपालिका–६ करुवा टोलमा ढलान गरिएको गोरेटो बाटोको केही भाग डोजर लगाएर भत्काइएको छ । सडक ढलान गर्दा आफ्नो जमिन अतिक्रमण गरी बनाएको भन्दै स्थानीय कृष्ण राना मगरले केही भाग डोजरको प्रयोग गरी भत्काएका हुन् ।

भत्काइएको क्षेत्र एक स्थानीयको घर अगाडिको रहेको छ । यहाँ गत वर्षको वैशाखमा सडक ढलाई गरिएको थियो । कारागार पछाडीको गोरेटो सडक वडा कार्यालयको २५ हजार, स्थानीयको १५ हजार गरी जम्मा ४० हजारको लागतमा २५ मिटर लम्बाई १ मिटर चौडाई गरिएको हो ।

उक्त सडक नापी कार्यालयको नाप नक्सामा स्पष्ट रुपमा गोरेटो बाटो उल्लेख भएको स्थानीयले बताएका छन् । उनीहरुले नाप नक्शामा रहेको पुरानो गोरेटो बाटोमा मात्र कालोपत्रे गरेको दावी गरेका छन् ।  रानाले जवरजस्ती आफुहरुसँग सल्लाहा नै नगरी एकाएक डोजर लगाएर भत्काएको उनीहरुको गुनासो  छ।

स्थानीयले रानाले एकाएक ढलान गरेको सडक भत्काएकाले कारवाही गर्न वडा कार्यालयलाई आग्रह समेत गरेका छन् ।  वडा अध्यक्ष सागर महर्जन भने बाटो ढलान गर्दाकै समयमै सामान्य विवाद भए पनि अहिले आएर डोजरको प्रयोग गरेर भत्काउनु दुखद् भएको बताए । उनले भने ‘आपसी समझदारीमा मिल्नुुपर्ने विषयमा विवाद गर्नु हुुँदैन थियो ।’ वडाअध्यक्ष महर्जनले प्राविधिकहरु सम्बन्धित स्थानमा लगेर पुनः नाप जाँच गरी समस्याको समाधान गर्ने बताए ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update