Shittalpati
कोरोना राहत कोषमा नेपाली काँग्रेस तानसेनको सहयोग

पाल्पा । जिल्लाको तानसेन नगरपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा नेपाली काँग्रेस तानसेन नगर समितिले सहयोग गरेको छ । काँग्रेसले आईतबार राहत कोषका लागि ७५ हजार १ सय ३५ रुपैयाँ सहयोग गरेको हो ।

काँग्रेसले उक्त सहयोग रकम नगरप्रमुख अशोककुमार शाहीलाई हस्तान्तरण गरेको छ । नगरसमितिका सभापति मधुदयाल सैजुले सो रकम हस्तान्तरण गरेका हुन । राहत रकम ग्रहण गर्दै नगरप्रमुख शाहीले, नगर भित्रका हरेक परिवारलाई कुनै न कुनै रुपमा नगरसरकार भएको अनुभूति हुने गरी काम भएको बताए । सोही अवसरमा नेपाली काँग्रेसका युवा नेता तथा जिल्लाका पार्टी सचिव अजय कर्माचार्यले, नेपाली काँग्रेसले केन्द्रीय नीति अनुरुप महामारी पनि असल प्रतिपक्ष जनताका लागि राहतमा सधै सहभागिता जनाउँन तयार भएको भन्ने सोंचलाई चरितार्थ गर्दै नगरसमितिको पहलमा प्रत्येक वडाका काँग्रेसका सदस्यहरुसंग संकलन भएको राहत रकम हस्तान्तरण गरिएको बताए ।

नेपाली काँग्रेसका अर्को सचिव झपेन्द्र गहिरेले काँग्रेस सधै आम जनताका पक्षमा रहेको बताए । नेपाली काँग्रेसका महासमिति सदस्य तथा युवा नेता हिमालदत्त श्रेष्ठले राहत वापत प्राप्त भएको रकम वास्तविक परिवारले पाउँनुपर्नेमा नगरसरकारको ध्यान जान जरुरी भएको बताए । नगरसभापति मधुदयाल सैजुले, नेपाली काँग्रेस जनताका हरेक समस्या प्रति सधै संगै सहयोगी बन्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update