Shittalpati
डेंगीबाट आठ जनाको मृत्यु

पाल्पा, नेपालमा पछिल्लो समय डेंगी संक्रमितको संख्या बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार ७४ जिल्लामा फैलिएको डेंगीबाट हालसम्म ८ जनाको  मृत्यु भइसकेको छ । जसमा पाल्पाकी एक जना महिला रहेकी छन् ।  

हालसम्मको तथ्यांक अनुसार डेंगी संक्रमितको संख्या ११ हजार १ सय ५७ पुगेको छ । त्यसमध्ये सुनसरीमा संक्रमितको संख्या धेरै रहेको छ । उक्त जिल्लामा संक्रमिको संख्या ६ हजार ३ सय पुगिसकेको छ । अघिल्लो वर्ष काठमाडौं जिल्ला डेंगीको हटस्पटमा बनेकोमा यो वर्ष सुनसरीमा डेंगी संक्रमण व्यापक फैलिएको हो । प्रादेशिक तथ्यांक हेर्दा सबैभन्दा धेरै कोशी प्रदेशमै ८ हजार ४ सय २० जनामा डेंगी संक्रमण भइसकेको छ ।

त्यसैगरी बाग्मती प्रदेशमा १ हजार ५ सय ४७, गण्डकी प्रदेशमा ४ सय ८१ र सुदूरपश्चिम प्रदेशमा ४ सय ४ जना, लुम्बिनी प्रदेशमा २ सय १९, मधेश प्रदेशमा ५८ र कर्णाली प्रदेशमा २८ जना संक्रमित भइसकेका छन् । डेंगी संक्रमणको संख्या अझै केहि महिनासम्म बढन सक्ने स्वास्थ्य विज्ञहरूले बताइहेका छन् । डेंगीबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नु प्रमुख उपाय भएकाले आफ्नो वासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउन विज्ञहरूको सुझाव छ ।

जुनदेखि अगस्टलाई डेंगीले महामारीको रूप लिन सक्ने समय (पिक सिजन) मानिन्छ । मनसुनपछिको समयमा डेंगी संक्रमण बढ्न सुरु हुन्छ । डेंगीबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्ने गर्नुपर्छ ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update