Shittalpati
तानसेनमा सहज बन्दै खानेपानी

पाल्पा, पछिल्लो केही दिन यता तानसेनमा खानेपानी सहज बन्दै गएको छ । एक महिना अघिदेखि तदर्थ समितिले खानेपानी वितरण प्रणालीलाई व्यवस्थित गर्न थालेसँगै तानसेनको खानेपानी वितरण सहज बन्दै गएको हो ।  

सातदिनदेखि दश/पन्ध्र दिनमा आउने खानेपानी अहिले दुई/तीन दिन विराएर आउन थालेको छ । समितिले खानेपानीका मुहान व्यवस्थित गर्ने, टुफुट भएका पाइपहरु मर्मत सम्भार गर्ने, विद्युत आपूर्तिका कारण देखिएको समस्या समाधान गर्ने, कर्मचारीहरुलाई वितरणमा सचेत गराउने जस्ता कामहरु गर्दै आएकाले खानेपानीमा केही सहज हुँदै गएको देखिन्छ । वितरण प्रणाली नै व्यवस्थित नहुँदा तानसेनवासीले वर्षौदेखि खानेपानी समस्या झेल्दै आएका थिए । यस पटक तदर्थ समितिले भने अव्यवस्थित वितरण प्रणालीलाई व्यवस्थित बनाउने काममा सक्रिय भएर लागेको छ । उसले खानेपानीको समस्या वितरण प्राणालीमै रहेको ठहर गर्दै व्यवस्थित बनाउने कामलाई तदारुकताका साथ अगाडि बढाएको हो ।

यहाँका खानेपानी मुहान व्यवस्थित नहुँदा पर्याप्त मात्रमा पानी नआउने, आएको पानी समेत बिच– बिचमा पाइपहरु टुट्फुट भएकाले चुहावट हुने, वितरणमा कर्मचारीको लापरवाही, विद्युत आपूर्तिको समस्या जस्ता कारणले यहाँका उपभोक्ताहरुले खानेपानीको समस्या झेल्दै आएका थिए । यस अघिको समितिले वितरण प्रणालीमा चासो नदिदा वर्षौदेखि उपभोक्ताले समस्या झेल्नु परेको हो । अहिलेको समितिले खानेपानीको समय तालिका सार्वजनिक नगरे पनि अधिकांस स्थानमा २÷३ दिन र कहि कतै एक दिन विराएर पानी वितरण गर्ने गरेको छ । विगतकै पाइपलाईन अनुसार नै पानी वितरण भएकाले केही स्थानमा एक दिन विराएर पानी वितरण हुने गरेको समितिले जनाएको छ । छिट्टै नै पाइपलाईन व्यवस्थित गरेर सबै क्षेत्रमा एकै किसिमले पानी वितरण गर्ने तयारी गरिएको तानसेन खानेपानी उपभोक्ता तदर्थ समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए । अहिले पानी वितरणलाई सहज बनाउने काममा सिंगो समिति लागि परेको उनले बताए ।

अध्यक्ष श्रेष्ठले भने ‘हामीले मुहानमा खेर गइरहेको पानी व्यवस्थित गर्ने, टुट्फुट पाइपहरु मर्मत गर्ने, गेडबलहरु मर्मत सम्भार गर्ने, विद्युतमा देखिएको समस्या समाधानमा सम्बन्धित निकायसँग पहल गर्ने काम गर्दै आएका छौं ।’ चुहावट पानीलाई व्यवस्थित गरेपछि अहिले पानी वितरणमा सहज भएको उनले बताए । पानी एक/दुई दिन विराएर आउन थालेपछि उपभोक्ताहरु उत्साहित भएका छन् । पहिले–पहिले आठ/दश दिनमा पानी आउन्थो, अहिले एक/दुई दिन विराएर पानी आउँदा खुसी लागेको तानसेन सिल्खानटोलका उपभोक्ता पुरुषोत्तम अर्यालले बताए । उनले भने ‘अहिले त पानी छ्यालव्याल भएको छ, यस्तै हुने हो भने त तानसेनवासीले समस्या झेल्नुपर्ने थिएन् ।’ भगवतीटोलकी सावित्रा न्यौपाने पनि हिजो आज पानी दुई दिन विराएर भोर्न पाउँदा खुसी छिन् । उनी भन्छिन् ‘ दश/पन्ध्र दिन पानी नआउदा नारास्थान, तिनधार पुगेर पानी ल्याउनु पथ्र्यो अहिले एक हप्ता जति भयो पानी दुई दिन विराएर आएको छ ।’ खानेपानी सहज बन्दै गएपछि उनीहरु मात्र होइन यहाँका होटेल व्यवसायी, भाडाका घरमा बस्दै आएका उपभोक्ता, अस्पताल, ठूला कार्यालयहरुमा समेत सहज भएको छ । दिनहुँ जसो भिड हुने नारायणस्थान, तिनधारा, होलाङ्गदी लगायतका धाराहरुमा समेत मानिसहरूको भिड देखिदैन ।

तानसेनमा भुल्के, सिस्ने, होला·दी, तीनधारा, क्षेत्रबाट लिफ्ट गरी खानेपानी वितरण हुँदै आएको छ । समितिले अहिले यी क्षेत्रमा खेर गइरहेको पानीलाई व्यवस्थित गरेर वितरण गरिरहेको छ । जसका कारण  अहिले वितरणमा केही सहज हुँदै गएको हो । यहाँ अहिले ४ हजार १ सय ७५ उपभोक्ता रहेका छन् । दैनिक २० लाख लिटर पानीको माग रहेको तानसेनमा ८ देखि १० लाख लिटर मात्र आपूर्ति हुने गरेको छ । सुख्खा याममा भने आपूर्ति घटेर ६ देखि ७ लाख लिटर मात्र हुन्छ । यहाँको खानेपानी समस्या समाधान गर्न कालीगण्डकीबाट पानी ल्याइए पनि त्यो सफल हुन सकेको छैन । अहिलेको तदर्थ समितिले कालीगण्डकीको पानीलाई समेत व्यवस्थित गर्न थालेको छ ।

यस अघि खानेपानीको जिम्मा पाएको निकाय नै गैरजिम्मेवार बन्दा यहाँका नागरिकले वर्षौदेखि खानेपानीको समस्या भोग्नु परेको हो । दलीय प्रतिनिधित्वका हिसाबले २०७२ सालमा बनेको उपभोक्ता समितिले खानेपानी व्यवस्थित गर्नु त परको कुरा समितिको निर्वाचन पनि नगर्ने, समितिबाट पारित नियम पनि आफ्नै अनुकुलताको निर्माण गरेर अगाडि बढ्ने काम गरेकाले १३ असार २०८० को आम उपभोक्ताहरुको भेलाले उक्त समिति विघटन गरेको थियो । उपभोक्ताहरुको भेलाले तत्कालिन समिति विघटन गरेपछि  तानसेन नगरपालिकाकाले १९ असारमा मोहनप्रसाद श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति निर्माण गरी यथासक्य छिटो निर्वाचन गर्ने जिम्मेवारी तोकेको थियो । उक्त समितिले खानेपानी व्यवस्थित गर्नेदेखि निर्वाचनका लागि आवश्यक प्रक्रिया समेत अगाडि बढाएको छ  ।  

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update