Shittalpati
माथागढी गाउँपालिकाद्वारा सञ्चालित आधारभूत तह कक्षा ५ र ८ को परीक्षाफल प्रकाशित

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ५ र कक्षा ८ को परीक्षाफल प्रकाशित भएको छ । गाउँपालिकाले शैक्षिक सत्र २०७६ सालको बार्षिक परीक्षाको परीक्षाफल आईतबार प्रकाशित गरेको हो ।

४२ वटा परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा कक्षा ५ मा ४ सय ८६ जना र कक्षा ८ मा ५ सय १३ जना विद्यार्थीहरु सहभागी भएका थिए । प्रकाशित नतिजा अनुुसार कक्षा ८ तर्फ सामुुुदायिक विद्यालयहरु मध्ये रत्न मा.वि. देउगीरकी छात्रा शोभा कुमारी चिदी ३.८२ जि.पि.ए. सहित छात्राहरु तर्फ सर्वोत्कृष्ट भएकी छन् । यसै गरी छात्रहरु तर्फ रत्न मावि देउगीरकै संयोग जि.सी.३.९१ जि.पि.ए. सहित सर्वोत्कृष्ट भएका छन् । यसै गरी संस्थागत विद्यालयतर्फ कक्षा ८ मा माउण्ट भ्यालि ई.स्कुल सराईकी कृतिका राना ३.९१ जि.पि.ए.ल्याई सर्वोत्कृष्ट भएकी छन् भने छात्र तर्फ पनि माउण्ट भ्यालि स्कुलकै छात्र डेविट राना ३.८७ जि.पि.ए. सहित सर्वोत्कृष्ट भएका छन् । यसै गरी कक्षा ५ को सामुदायिक विद्यालय तर्फ सहारा देवी प्रा.वि. की छात्रा उषा कुमाल ३.६५ जि.पि.ए. र छात्र तर्फ पनि सहारादेवी प्रा.वि.कै सुमित कुमाल ३.३५ जि.पि.ए. सहित सर्वोत्कृष्ट भएका छन् । संस्थागत विद्यालयतर्फ माउण्ट मालिका ई.स्कुल देउगिरकी छात्रा निशा सारु ३.६० जि.पि.ए. र छात्र तर्फ माउण्ट मालिकाकै नयन थापा ४ जि.पि.ए. ल्याई सर्वोत्कृष्ट भएका छन् ।

कोभिड १९ का कारण स्थगित गरिएको परीक्षाफल प्रकाशनको नतिजा गाउँपालिकाको वेभसाईट Mathagadhimun.gov.np गएर वा गाउँपालिकाको फेसबुक पेज मार्फत पनि हेर्न सकिने गाउँपालिकाका प्रमुख प्रकाशकिय अधिकृत राजु नेपालले जानकारी दिए । यसै गरी गाउँपालिकाले तयार पारेको अनलाईन सफ्टवयर mathagadhif\.yarshasoft.comमा गएर विद्यालयको युजर नेम र पासवर्ड प्रयोग गरी सम्पूर्ण नतिजा हेर्न सकिने गाउँपालिकाका फोकल पर्सन अशेष भट्टराईले बताए । परीक्षा प्रकाशन अघि बसेको गाउँशिक्षा समिति र परीक्षा समितिको संयुक्त बैठकले परीक्षा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण पक्षलाई धन्यवाद दिएको छ । त्यस्तै ग्रेड सुधार परीक्षा दिन चाहाने परिक्षार्थीहरुले कोभिड १९ का कारणले बन्द भएका विद्यालयहरु खुलेको १ हप्ता भित्र आन्तरिक रुपमा ग्रेड सुधार परीक्षाको व्यवस्थागरी विद्यार्थीहरुको प्राप्ताङ्क परीक्षा समितिलाई उपलब्ध गराउन निर्देशन दिने निर्णय गरेको छ ।

यसैगरी प्रकाशित नतिजा अनुुसार वा ग्रेड सुधार परीक्षाबाट समेत १.६ जिपिए प्राप्त गर्ने विद्यार्थीहरुलाई कक्षान्नोति गर्न विद्यालयहरुलाई निर्देशन दिने र प्राप्त ग्रेड चित्त नबुझे परीक्षार्थीले १०० शुल्क सहित पुर्नयोग गर्नका लागि सम्बन्धित विद्यालयहरुमार्फत परीक्षा समितिमा परीक्षाफल प्रकाशन भएको मितिले ३५ दिन भित्र निवेदन दिने ब्यवस्था गर्ने निर्णय गरेको छ । साथै प्रकाशित नतिजा अनुशार उत्कृष्ट नतिजा हासिल गर्ने सामुदायिक र संस्थागत विद्यालय दुवै तर्फका छात्र ,छात्रा, शिक्षक र विद्यालयहरुलाई पुरस्कृत समेत गर्ने गाउँपालकाका अध्यक्ष सन्तोष थापा मगरले बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update