Shittalpati
रामपुरलाई व्यवस्थित शहर निर्माणका लागि सम्भाव्यता अध्ययन

पाल्पा, रामपुर नगरपालिकालाई व्यवस्थित शहर निर्माणका लागि सम्भाव्यता अध्ययन अन्तर्गत योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी भएको छ । सम्भाव्यता अध्ययनको क्रममा सरोकारवालाहरुसँग राय तथा सुझाव संकलनका लागि सोमबार कार्यशाला गोष्ठी भएको हो ।

रामपुर नगरपालिकाको आयोजना र शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको प्राविधिक सहयोगमा कार्यशाला गोष्ठीको सहजीकरण परामर्शदाता ग्लोबल इन्फर्मेशन सर्भे एण्ड म्यापिङ्ग कन्सर्न प्रालिले गरेको थियो । कार्यशाला गोष्ठीमा छलफल पश्चात आफ्नो धारणा राख्दै लुम्बिनी प्रदेशका सांसद राजुप्रसाद श्रेष्ठले दिर्घकालिन सोंचका साथ व्यवस्थित शहर निर्माणका लागि योजना बनाउनुपर्ने बताए । साथै उनले प्रदेश सरकारले कृषि क्षेत्रलाई जोड दिएको बताउँदै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर व्यवस्थित शहर निर्माणको योजना अघि बढाउन जोड दिए ।

गोष्ठीमा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले रामपुर नगरपालिकालाई भविष्यमा कस्तो बनाउने र कसरी व्यवस्थित शहर बनाउने भन्ने जिम्मेवारी अहिले सबैको काँधमा आएको बताए । व्यवस्थित शहर निर्माण गरी रामपुरलाई नमुना शहरको रुपमा विकास गर्न सबैको सहयोग र समन्वय आवश्यक रहेको औँल्याए । नगरपालिकालाई सुन्दर र व्यवस्थित शहर बनाउन योजना बनाएर कार्यान्वयनका लागि सबै लाग्नुपर्ने बताए । रामपुर नगरपालिका प्राकृतिक र भौगोलिक हिसाबले अत्यन्तै सुन्दर रहेको भन्दै यहाँको संरचना र भुगोल नबिग्रोस् भन्ने सोँचका साथ अघि बढेको भन्दै यसका लागि सबैको प्रयास आवश्यक रहेको बताए  । 

कार्यक्रममा ग्लोबल इन्फर्मेशन सर्भे एण्ड म्यापिङ एण्ड कन्सर्न प्रालिका योज्ञेन्द्रपूर्ण श्रेष्ठले व्यवस्थित शहर निर्माणका लागि नगरको भौगोलिक अवस्था, सडक, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग र व्यापार लगायतका विषयमा सहजीकरण गरेका थिए । साथै व्यवस्थित शहर निर्माणका लागि विगत ४ महिना देखिको सम्भाव्यता अध्ययनको प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । कार्यशालामा नगर भित्रका विभिन्न स्थानलाई आवास, उद्योग, व्यापार, कृषि, पर्यटन, सडक, शिक्षा स्वास्थ्य लगायतको क्षेत्र निर्धारण गरिएको छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेशका सांसद राजुप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता र योजना शाखा प्रमुख विक्रम बस्नेतले कार्यक्रमको सञ्चालन गरेका थिए । नेपाल सरकार शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको व्यवस्थित शहर निर्माण योजना अन्तर्गत रामपुर नगरपालिकालाई व्यवस्थित शहर निर्माण गर्न लागेको हो ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update