Shittalpati
‘स्वास्थ्य बिमा कार्यक्रममा देखिएको समस्या छिट्टै समाधान हुन्छ’

पाल्पा, प्रतिनिधिसभा सदस्य ठाकुर प्रसाद गैरेले पाल्पाको स्वास्थ्य बिमा कार्यक्रममा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् । उनले स्वास्थ्य बिमा बोर्डसँग पाल्पामा देखिएको समस्याका बारेमा छलफल भइरहेकाले छिट्टै समाधान हुने बताए ।

शनिबार तानसेनमा नेपाल औषधि व्यवसायी संघ पाल्पा शाखाको सातौ साधारण सभालाई सम्बाधेन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले अस्पतालहरुलाई भुक्तानी नदिएको भन्दै सेवा बन्द गर्न लागेपछि त्यसको समाधानमा आफुहरुले सम्बन्धित निकायसँग छलफल गरेकाले समाधान छिट्टै हुने बताएका हुन् । सांसद गैरेले स्वास्थ्य बिमा उपचार बापत मिसन अस्पतालको बाँकी रकम स्वास्थ्य बिमा बोर्डबाट ढिलोमा असोज मसान्तसम्म भुक्तानी गर्ने, अस्पतालले राखेको औषधि तथा परीक्षणको दररेट भदौसम्म पुनरावलोकन गर्ने बोर्डबाट सहमति भएको समेत बताए । उनले पाल्पाका दुई ठूूला अस्पतालप्रति लक्षित गर्दै भने ‘राज्यसँग सम्झौता गर्ने, केहि समस्याहरु आयो भन्दैमा बिचमै छोड्छु भनेर सेवा प्रवाह नै रोक्नु गैर जिम्मेवारी काम हो, यसो गर्नु हुँदैन ।’ राज्यको नीति नियम कानुन सबैले मान्नु पर्नेमा सांसद गैरेले जोड दिए । उनले भने ‘राज्य भन्दा माथि नत सरकार छ, नत संघ संस्था छन् नत कुनै व्यक्ति, त्यसैले राज्यले बनाएको नीति नियम कानुन सबै पक्षले पालना गर्नु पर्छ ।’ जनता, राजनीतिकदल, नागरिक समाज, पत्रकार सबैले मिसन अस्पताललाई स्वास्थ्य बिमा नियमित रुपमा सञ्चालन गर्ने छ भन्ने अपेक्षा गरेको सांसद गैरेले बताए ।

पाल्पाका सरकारी अस्पताललाई सुविधा सम्पन्न बनाउन, विशेषज्ञ सेवा प्रदान गर्न, अस्पताललाई चाहिने जग्गाको व्यवस्थापनमा जनप्रतिनिधि, जिल्लाका राजनीतिक दलहरु सक्रिय रुपमा लागेको समेत उनले ताए । अर्का प्रतिनिधी सभा सदस्य नारायण प्रसाद आचार्यले  सरकार र बिमा बोर्डसँग आफुहरु निरन्तर छलफलमा रहेको बताए । लुम्बिनी प्रदेशका सांसद तथा पूूर्व मन्त्री वीरबहादुर रानाले पाल्पाको स्वास्थ्य क्षेत्रको विषयमा आफु संवेदनशील रहेको धारण व्यक्त गरे । उनले जिल्लाको स्वास्थ्य बिमा उपचारमा देखिएको समस्या समाधानमा आफुहरु लागेको बताए । बरिष्ठ मुटु रोग विशेषज्ञ एवं नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले अहिले नेपालमा जथाभावी रुपमा एन्टिबाइटिकको प्रयोगले अधिकाश मानिसको स्वास्थ्य अवस्था जटिल बन्दै गएको बताए । उनले औषधी व्यवसायलाई व्यापार भन्दा  सेवालाई बढी ध्यान  दिन आग्रह गरे । जिल्ला जिल्लामा समितिबाटै अनुगमन समिति बनाउनु पर्ने, चिकित्सकको लेखाई बिना औषधी पसलले तरकारी बेचे जस्तो औषधीहरु बेच्न बन्द गर्नुपर्नेमा डा. कोइरालाको जोड थियो ।  

देशभरीका सरकारी अस्पताल स्वास्थ्य संस्थाको क्षमता विस्तार तथा गुणस्तरीय सेवाको लागि नितिगत रुपमा सम्बोधनका लागि प्रयास भईरहेको डा. कोइरालले बताए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले सबैपक्ष राज्यको कानुन अनुसार सञ्चालन हुनुपर्नेमा जोड दिइन् । सबैपक्ष इमान्दार भएर, आफ्नो दायित्व जिम्मेवारी, नैतिकता भित्र रहेर काम गरे कसैले कसैलाई औला ठडाएर कुरा गर्नुपर्ने अवस्था नआउने उनले बताइन् । कार्यक्रममा नेपाल औषधी व्यासायी संघका निवर्तमान केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवाली, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बस्याल, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा  लगायतले औषधि व्यवसायीहरुले खेलेको भूूमिकाका बारे चर्चा गरे । संघका अध्यक्ष विष्णु केसीको अध्यक्षता, उपाध्यक्ष समिरमान सिंहको स्वागत निवर्तमान अध्यक्ष रामलाल श्रेष्ठको धन्यवाद ज्ञापन र महासचिव सूर्य बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update