Shittalpati
 मिसन अस्पतालमा बिमा उपचार सेवा स्थगित गर्ने निर्णय यथावत् , जस लिने दाउमा राजनीतिक दल 

पाल्पा, तानसेनस्थित युनाईटेड मिसन अस्पतालले  बिमा उपचार सेवा स्थगित गर्ने निर्णय यथावत राखेको जनाएको छ । साउन १२ गते पत्रकार सम्मेलन गरी साउन २१ गतेदेखि बिमा उपचार सेवा स्थगित गर्ने निर्णय गरेको अस्पतालले सो निर्णय यथावत् रहेको जनाएको हो । 
मिसन अस्पतालले सेवा सुुचारु गर्ने सहमति भएको भन्ने विषय सामाजिक सञ्जालमा आएपछि अस्पतालले शुक्रबार एक सूचना जारी गरी सेवा सुुचारु गर्ने भन्ने कुुनै पनि निर्णय नभएको स्पष्ट पारेको छ । अस्पतालले उठाएको विषयहरुमा शुक्रबारसम्म पनि बिमा बोर्डबाट सम्बोधन नभएकाले स्थगन गर्ने निर्णय यथावत् रहेको अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईद्वारा जारी सूचनामा उल्लेख छ । 
अस्पतालका मागहरु सम्बोधन भएमा जुनसुकै बेला पनि सेवा दिन तयार रहेको अस्पतालले जनाएको छ । अस्पतालले सेवा स्थगित गर्ने निर्णय गरेको समाचार बाहिर आएपछि जिल्लाका राजनीतिक दल र केही सांसदहरुले छलफल अगाडि बढाए पनि त्यसले निकास निकाल्न सकेको छैन् । बरु उनीहरुले जस लिने दाउमा अस्पताल सेवा सुचारु गर्न तयार रहेको बताउँदै आएका छन् ,तर बिमा उपचार सेवा सञ्चालन नगर्ने घोषणा गरेको मिसनले पूर्ववत निर्णयमा अडिग रहेको छ । उसले बिमा बोर्ड, जिल्लाका राजनीतिक दल, सांसदसँग छलफल भएपनि सेवा सञ्चालन गर्ने भन्ने बारेमा निर्णय नभएको बताएको छ । 
 

बिगत ६ वर्ष देखी पटक–पटक अस्पतालले स्वास्थ्य बीमा बोर्डलाई शुल्कको समायोजनको लागि अनुरोध गरे पनि बोर्डले चासो नदिदा बीमा कार्यक्रमको सेवा शुल्कले अस्पतालको दैनिक खर्च धान्न समेत गाह्रो हुने गरेको अस्पतालले जनाएको छ । बीमाबाट उपचार गराएबापत बिमा बोर्डले अस्पताललाई हालसम्मको १२ करोड ८३ लाख तिर्न बाँकी छ । उक्त बक्यौता रकम २०८० साउन २१ गतेसम्म भुक्तानी नगरेमा बीमाबाट हुने सबै किसिमका उपचार सेवा स्थगित गर्ने निर्णयमा अस्पताल पुुगेको हो । अस्पतालले २०७४ बैशाखदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएकोमा स्वास्थ्य बीमा बोर्डले हालसम्म पनि नियमित तथा समयमै भुक्तानी नदिएको, विना कारण दाविहरु अस्विकृत गर्ने गरेको, बोर्डको दररेट अस्पतालको दररेट भन्दा धेरै कम भएकाले आफुहरु बीमा उपचारको सेवा स्थगित गर्ने अवस्थामा पुगेको बताएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update