Shittalpati
लकडाउन लम्बिँदै जाँदा बङ्गुरपालन व्यवसायी मर्कामा

स्याङ्जा, विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको प्रभावबाट बच्न सरकारले लकडाउन घोषणा गरेपछि विभिन्न पेशा व्यवसाय गर्दै आएका व्यवसायीहरु मर्कामा परेका छन् । त्यसमा पनि पशुजन्य व्यवसाय गर्दै आएका व्यवसायीका समस्या जटिल बन्दै गएका छन् । लकडाउन लम्बिएसँगै यो व्यवसाय गर्दै आएका व्यवसायी चिन्तितसमेत बनेका छन् । वालिङ नगरपालिका–९ पिपलटारीमा इन्द्रेणी बङ्गुर फार्म सञ्चालन गर्दै आएका भीमप्रसाद लुइँटेलले लकडाउनका कारण बङ्गुरका पाठापाठी विक्री नहुँदा आफू समस्यामा परेको बताए । लुइँटेलले भने, “अहिले फार्ममा ३०० बढी पाठापाठी छन् । तीमध्ये २०० पाठापाठी विक्री गर्नका लागि तयारी अवस्थामा पुगेका छन् तर लकडाउनका कारण विक्री नहुँदा साह्रै समस्या भएको छ ।”

बन्द हुनुभन्दा पहिले मासिक १५० भन्दा बढी पाठापाठी विक्री हुने गरेकामा अहिले विक्री गर्न नपाउँदा खोरमा बढी पाठापाठी भएर दैनिकजसो तीन/चार पाठापाठी मर्ने गरेको बताए । पाठापाठी विक्री नहुँदा बङ्गुरलाई दान खुवाउनसमेत समस्या भएको लुइँटेलको भनाइ छ । नगरपालिकामा आफ्नो समस्याबारे कुरा राखेको र नगरपालिकाले समस्या समाधानका लागि पहल गर्ने बताए पनि अहिलेसम्म केही नगरेको
उनले बताए । वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले बङ्गुरपालक व्यवसायीको समस्या समाधानका लागि आफूले कास्की जिल्लासँग समन्वय गरे पनि अहिलेको अवस्थामा बङ्गुरका पाठापाठी कसैले लैजान नचाहेकाले समस्या भएको बताए ।

नगरप्रमुख खाँणले भने, “पहिलेदेखि नै इन्द्रेणी बङ्गुर फार्मले जिल्ला बाहिर बेच्दै आएकाले अहिले जिल्ला बाहिरबाट माग नआएकोले समस्या भएको बताउँदै आवश्यक दानाका लागि सहजीकरण गर्ने जानकारी दिए ।”युवा व्यवसायी लुइँटेलले विसं २०७१ देखि शुरु गरेको इन्द्रेणी बङ्गुर फार्ममा अहिले लगानी करिब साढे दुई करोड पुगेको छ । नेपाली सेनाको जागिर छाडेर वैदेशिक रोजगारीको सिलसिलामा दुबइ पुगेका लुइँटेल केही वर्षको विदेश बसाइँलाई बिट मार्दै स्वदेशमै केही गरौँ भन्ने उद्देश्यले वालिङ नगरपालिका–१४ स्थायी घर भएका लुइँटेलले बङ्गुरपालन व्यवसायको शुरुआत गरेका थिए । शुरु–शरुमा बङ्गुर पाल्दा बाहुनको छोराले पनि बङ्गुर पाल्छन् भनेर भन्नेहरु छोटो समयमै उनले गरेको प्रगति देखेर प्रशंसासमेत गर्ने गर्थेँ, तर लकडाउनका कारण व्यवसायमा उदाहरणीय बनेका व्यवसायी यतिबेला भने चिन्ति बनेका छन् ।

उनको फार्ममा अहिले ३०० माउ बङ्गुर र ३३५ पाठापाठी रहेका छन् । बङ्गुरले पाठापाठी जन्माइरहने र पाठापाठी धेरै हुँदा सीमित खोरमा राख्नुपर्दा मिच्चिएरसमेत मर्ने गरेको, भिटामिन, औषधि, दानालगायत व्यवस्थापन गर्न समस्या परेको लुइँटेलले बताए । यसैगरी वालिङ नगरपालिका–१२ स्थित फौदीखोलामा शुभबिहानी बङ्गुरपालन फार्म सञ्चालन गर्दै आएका डम्मरबहादुर गुरुङले पनि बङ्गुरका पाठापाठी विक्री नहुँदा समस्या परेको बताए । रु आठ लाख लागतमा बङ्गुरपालन व्यवसाय गर्दै आएका गुरुङले पाठापाठी विक्री नहुँदा दाना किन्नसमेत समस्या भएको बताए । गुरुङले भने, “पाठापाठी बेच्न पाएको छैन । लकडाउन हुनुभन्दा पहिले पाठापाठीको माग बढी रहे पनि अहिले कोही नआएको बताए ।” एक पाठापाठीलाई रु पाँचदेखि पाँच हजार ५०० सम्ममा बेच्ने गरे पनि अहिले बेच्ने बेला भएका ७० पाठापाठी विक्री नभएर यत्तिकै रहेको बताए । गुरुङ र लुइँटेल त उदाहारण मात्रै हुन् यस्तैगरी जिल्लाका अन्य व्यवसायीसमेत लकडाउनले गर्दा व्यवसाय धान्न नसक्ने अवस्थापा पुगेका छन् । पशुपालन व्यवसायलाई आफ्नो मुख्य व्यवसाय बनाउँदै आएका किसान यतिबेला समस्यामा परेका छन् ।

कुखुरा व्यवसायी समस्यामा

परशुरामधाम–सानो लगानी गरी स्वरोजगार भएका डडेल्धुराका कुखुरापालक किसान खानेकुरा र औषधी नपाउने अवस्था आएपछि चिन्तित बनेका छन् । डडेल्धुरामा एक सयभन्दा बढी कुखुरा व्यवसायी रहेको र लाखौँ लगानी गरेर आत्मनिर्भर बनिरहेका बेला आकस्मिक रूपमा फैलिएको सङ्क्रमणको पहिलो शिकार पोल्ट्री व्यवसाय भएका डडेल्धुरा कुखुरा व्यवसायी सङ्घका सचिव गणेशप्रसाद अवस्थीले बताए । “बैंक सबै बन्द छन्, कुखुरा बजारमा जान नपाएकाले हामीसँग नगद हुने कुरो भएन । दाना पठाउने उद्योगले नगद मात्र भन्छन्”, सचिव अवस्थीले भने, “जान पनि समस्या छ, प्रशासनले केही राहत हुने सिफारिस गरिदिए केही समयका लागि कुखुरा बचाउने उपाय सोचिन्थ्यो ।” लकडाउनले बाहिरबाट आउने कुखुरा दाना नआउने र स्थानीयस्तरमा पनि दानाजन्य अन्नअनाज नपाइने भएका कारण व्यवसाय धरासायी बन्दै गइरहेको अर्का व्यवसायी नन्दराज भट्टले बताए । समय पुगेका कुखुरा तथा अण्डा बजारमा जान नपाउनु, ढुवानीमा पासको समस्या, दाना र औषधिको अभाव, व्यवसायको निरन्तरताका लागि बैंकिङ कारोवार बन्द हुनुजस्ता जोखिम रहेकाले कतिपय कृषक पलायनको स्थितिमा पुगेको कुखुरा व्यवसायीको भनाइ छ । कुखुरा व्यवसायीले कुखुरा बचाउनका लागि पहल गरिदिन दैनिक फोन आउने गरेको तर स्थानीय तहबाट त्यसको संरक्षणका लागि कुनै पहल नभएको कुखुरा व्यवसायी सङ्घका अध्यक्ष गगनसिंह भण्डारीले बताए । रासस 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update