Shittalpati
रामपुरमा व्यवसायिक फर्मको अनुगमन, अधिकांस पसल नविकरण नगरी सञ्चालन

पाल्पा, जिल्लाको रामपुरमा व्यवसायिक फर्मको अनुगमन गरिएको छ । रामपुर नगर सरकारले व्यवसायीलाई करको दायरामा ल्याउने उद्देश्यले अनुगमन गरेको हो । नगर सरकारले मुख्य बजार बेझाँड क्षेत्रका पसल तथा व्यवसायको अनुगमन गरेको छ । उपप्रमुख बालकुमारी थापाको संयोजकत्व गएको बजार अनुगमन टोलीले ८७ वटा पसल तथा व्यवसायको अनुगमन गरेको हो । 

जसमध्ये अधिकांशले व्यवसाय नविकरण नगरेको, केहीले दर्ता नगरेको, प्यान नं. नलिएको, घरभाडा सम्झौता नगरेको, मूल्य सूची नराखेको, खरिद तथा विक्री विल नभएको भेटिएको नगरपालिकाका प्रशासन अधिकृत युवराज पन्थीले जानकारी दिए  । अनुगमन टोलीले उनीहरुलाई साउन मसान्त भित्र दर्ता, नविकरण तथा अन्य प्रक्रिया पुरा गर्न निर्देशन दिएको छ । उपप्रमुख बालकुमारी थापाले चालु आर्थिक वर्षलाई नगरको आर्थिक वृद्धिदर वर्षको रुपमा लिएकाले सबै व्यवसायी फर्महरुले कानुन अनुसार व्यवसाय गर्न आग्रह गरिन् । उनले विकासका लागि लक्ष्य अनुसार आन्तरिक स्रोत जुटाउन करको दायरालाई फराकिलो बनाउने विषयमा नगर सरकार लागेकाले व्यवसायीलाई व्यवस्थित तरिकाले व्यवसाय गर्नुपर्ने बताईन् । उपप्रमुख थापाले भनिन्, ‘करको दायरामा ल्याई नगरको आन्तरिक आम्दानी वृद्धिसँगै व्यवसायीहरुलाई भविष्यमा अप्ठ्यारो नहोस् भन्ने उद्देश्यले आवश्यक प्रक्रिया पुरा गरेर मात्र व्यवसाय सञ्चालनमा सचेतना जगाउन अनुगमन सुरु गरिएको हो ।’ नगरपालिकाले गत वर्षदेखि बजारलाई व्यवस्थित बनाउन पहल थालेको हो । आगामी दिनमा नविकरण, दर्ता प्रक्रियासँंगै बजारका सामग्रीको गुणस्तर मापन र व्यवसाय सञ्चालनका मापदण्ड लगायत विषयमा विषयगत निकायसँंग सहकार्य गरेर अघि बढ्ने उनले बताईन् ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले दर्ता तथा प्रक्रिया पुरा गरेर, व्यवसायको प्रकृति र उद्देश्य अनुसार मात्र कारोबार गर्न आग्रह गरे । रामपुर नगरपालिकाले यस वर्षदेखि घर बहाल कर उठाउनका लागि सरोकारवालाहरुसँंग निरन्तर छलफल गर्दै आएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा आन्तरिक आयबाट ७ करोड संकलन गर्ने लक्ष्य लिएको छ । अनुगमन टोलीले पहिलो चरणमा बेझाँड बजार स्कुल रोड र केवुललाई क्षेत्रमा सञ्चालनमा रहेका पसल तथा व्यवसायको अनुगमन गरेको हो ।

उपप्रमुख थापाको नेतृत्वमा निमित्त प्रमुख प्रशासकिय अधिकृत चेमन प्रकाश पोखरेल, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, इलाका प्रहरी कार्यालय रामपुरका वरिष्ठ प्रहरी नायव निरीक्षक दल बहादुर बुढा, नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्ल, रामपुर नगरपालिकाका प्रेस सल्लाहाकार दान बहादुर हिस्की, रामपुर नगरपालिकाका आन्तरिक लेखा परीक्षक हृदयश पन्थी, प्रशासन शाखा अधिकृत युवराज पन्थी, सुचना तथा प्रविधि अधिकृत महेन्द्र श्रेष्ठसहितको टोलीले बजार अनुुगमन गरेको थियो ।  

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update