Shittalpati
नर्सरी रामपुर नगर सरकारलाई हस्तान्तरण

पाल्पा, जिल्लाको रामपुर नगर सरकारलाई विरुवासहितको नर्सरी हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय पाल्पाले विरुवासहितको नर्सरी नगर सरकारलाई हस्तान्तरण गरेको हो ।

  वनले एक पालिका एक वन नर्सरी कार्यक्रम अन्तर्गत नर्सरी निर्माण गरी त्यसको रेखदेश गर्ने गरी नगर सरकारलाई जिम्मा दिएको छ । ३ महिनामा तयार पारेको १४ प्रकारका ३२ हजार ६ सय ४० वटा विरुवा सहितको नर्सरी नगरपालिकालाई हस्तान्तरण गरिएको वन कार्यालयले जनाएको छ । सव डिभिजन वन कार्यालय रामपुरका प्रमुख सुजन राजभण्डारीले नगर सरकारका प्रमुख रमणबहादुर थापालाई एक औपचारिक कार्यक्रमकाबिच नर्सरी हस्तान्तरण गरेका हुन् । नर्सरी हस्तान्तरण गर्दै वन कार्यालयका भण्डारीले वन कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत रामपुर नगरपालिकासँग सम्झौता भई तयार पारिएको नर्सरी हस्तान्तरण गरिएको बताए । अहिले तत्काल खयर जातको विरुवा वितरण गर्न योग्य रहेको भन्दै अन्य विरुवा आगामी वर्ष वितरण गर्न सकिने उनले बताए । नर्सरी ग्रहण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले तयारी अवस्थामा रहेका विरुवा नगरवासीलाई निःशुल्क रुपमा वितरण गरिने बताए । अहिले वितरण गर्न योग्य रहेका २ हजार ७ सय ५० वटा खयरका विरुवा नगरवासीको मागको आधारमा वितरण गरिने उनको भनाई छ । बार्षिक कार्यक्रम अन्तर्गत नगरपालिकालाई नर्सरी तयारी गरी हस्तान्तरण गरेकोमा वन कार्यालयलाई  नगर प्रमुख थापाले धन्यवाद ज्ञापन गरे । 

रामपुर नगरपालिकाको भौतिक तथा जग्गा व्यवस्थापनमा सब डिभिजन वन कार्यालय रामपुरले नर्सरी हस्तान्तरण गरिएको हो । नर्सरीमा छतिवन, तेजपत्ता, ज्याकेरेण्डा, गोल्डमोहर, राजवृक्ष, वेल, पंहेले फुल, कपुर, ओरी, अमला, खयर, क्यासिया, हरियो सिमल र धुपी गरी ३२ हजार ६ सय ४० प्रकारका विरुवा रहेका छन् ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update