पाल्पा, जिल्लाको तिनाउ गाउँपालिकाले चालु आर्थिक बर्ष २०७९/८० मा करिब ८७ प्रतिशत वित्तिय प्रगती गरेको छ । गाउँपालिकाले चालुतर्फ तर्फ ८६.९२ प्रतिशत पुँजीगततर्फ ८६. ८२ प्रतिशत रकम खर्च गरेको हो ।
गाउँपालिकाले चालु आर्थिक बर्ष २०७९/८० असारसम्म भएको वित्तिय कार्यक्रमको तेस्रो सार्वजनिक सुनुवाईमार्फत वित्तिय प्रगति सार्वजनिक गरेको छ । गाउँपालिका सबै विषयगत शाखाहरुको पनि वित्तिय कार्यप्रगती विवरण सार्वजनिक गरेका छन् । गाउँपालिकाको शिक्षा शाखातर्फ ८६ प्रतिशत बजेट खर्च भएको छ । पालिकाले स्वास्थ्यमातर्फ ७५, कृषि विकासतर्फ ८५, पशु सेवातर्फ ७६ प्रतिशत कार्यप्रगती गरिएको जनाएको छ । उसले लक्षित वर्गको कार्यक्रममा ८७.४५ प्रतिशत, मेड्पा कार्यक्रममा ९९.२९ प्रतिशत, प्रधानमन्त्री रोजगार कार्यक्रममा ८१.४८ प्रतिशत रकम खर्च गरेको छ ।
पालिकाको सबैभन्दा सफलता आन्तरिक राजश्व रहेको छ । जसमा दोब्वरले वृद्धि गरेको छ । चालु आर्थिक बर्षमा २ करोड ८० लाख राजश्व उठाउने लक्ष्य लिएकोमा असार २६ गतेसम्म ३ करोड ९१ लाख राजश्व उठाउन सफल भएको छ । पालिका सहित ६ वटै वडाबाट अनलाइन प्रविधीमार्फत राजश्व संकलन गर्दै आएको पालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए । पालिकाले चालु आर्थिक बर्षमा ३ सय ८६ वटा योजना सम्झौता गरेकोमा शतप्रतिशत योजना सम्पन्न भएको जनाएको छ । पालिकाबाट १६ वटा योजना ठेक्काबाट सम्झौता भएकोमा १५ वटा योजना सम्पन्न भएको १ वटा बहुबर्षिय अनुसार काम भईरहेको गाउँपालिकाले जनाएको छ । उसले चालु आर्थिक बर्षमा एक घर एक धारा अन्र्तगत ५ सय ९ घरपरिवारमा खानेपानीको धारा वितरण गरेको छ । खानेपानीको लागि १४ वटा रिर्जभ खानेपानी टंकी निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताए । पालिकाले चालु आर्थिक बर्षमा विपद् व्यवस्थापनमा पूूर्ण रुपमा घर क्षति भएका ११ जनालाई २ लाख २० हजार, आशिंक क्षति भएका २१ घरपरिवारलाई २ लाख ८ हजार, विपन्न गरिव २१ घरपरिवारलाई उपचार खर्च वापत २ लाख ७ हजार, दुर्घटनामा परी मृत्यु भएका ३ विपन्न घरपरिवारलाई काजक्रियाको लागि १ लाख ५ हजार, चट्याङ उपचार गाडी भाडाको लागि १ लाख ९१ हजार गरी ९ लाख ३१ हजार खर्च गरेको छ ।
पालिकास्तरीय १७ र प्रदेशस्तरीय ३ गरी २० सहकारी संस्थाहरुलाई उत्पादनसँग जोड्ने गरी पालिकामा छलफल भई कृषकहरुसँग समन्वयको काम अगााडि बढाइएको, सबै सहकारी संस्थामा कोपोमिस प्रणालीमा रुपान्तरणको लागि पालिकास्तरीय तालिम सञ्चालन गरी काम भएको, सुरक्षित आभास कार्यक्रम अन्र्तगत ३४ घरपरिवारका लागि ५० हजारका दरले १७ लाख वितरण गरेको, गरिव परिवार पहिचानको लागि घर घरमा पुगी गरिव परिचय पत्र वितरण गरिएको पालिकाले जनाएको छ । पालिकाले अति गरिव ७० जना, मध्यम गरिब १ सय ५६ जना, सामान्य गरिब १ सय ७ जना गरी ३ सय ४० घरपरिवार परिचयपत्र वितरण गरेको छ । चालु आर्थिक बर्षमा न्यायिक समितिमा १३ वटा मुद्दाको उजुरी परेकोमा १० वटा किनारा लागेको र ३ वटा फछ्र्यौैट हुन बाँकी रहेका छन् । पालिकले चालु आ.व.मा २ वटा ऐन, ७ वटा कार्यविधी १ वटा निर्देशिका समेत बनाएको छ ।
सार्वजनिक सुनुवाईमा कृष्ण प्रसाद पाण्डे, खगेन्द्र केसी, गोपाल जि.सी.नारायण थापा, हिमाल गाहा, पदम शाक्य, गोविन्द पाण्डे, लाल बहादुर दर्लामी, नैना क्षेत्री लगायतले सहकारीहरुलाई उत्पादनसँग जोड्न, बढ्दो बेरुजुलाई अन्त्य गर्न, बेरुजुमा देखिएको असुल उपर गर्नुपर्ने रकम तत्काल असुल गर्न, पशुक्षेत्रमा देखिएको लम्की स्क्रिन रोग नियन्त्रण गर्न, सार्वजनिक सुनुवाईमा सर्वसाधारणको सहभागिता बढाउन, कर्मचारीको कार्यसम्पादन मुल्याङकन सार्वजनिक गर्न, विद्यालय खाजा खर्च बढाउन, नागरिकका गुनासो सम्बोधनका लागि डेक्स गठन गर्न, युवा क्षेत्रमा बजेट विनियोजन गर्न, फिल्डमा कर्मचारीहरुको नियमित रुपमा परिचालन गर्न जस्ता सुझाव दिएका थिए । नागरिकले उठाएका जिज्ञासाको वडा नं.ं १ वडा अध्यक्ष भुवन सिह चिदी, शिक्षा शाखा अधिकृत लक्ष्मी कुवँर, स्वास्थ्य शाख प्रमुख कृष्ण कार्की, पुर्वाधार शाखा प्रमुख किसन कुवँर, राजश्व शाखा प्रमुख निरञ्जन लामिछाने, कृषि शाखा प्रमुख हेमन्त शर्मा, लेखा शाखा प्रमुख शंकर पुरी, पशु शाखा प्रमुख मनिष अधिकारी प्रशासन शाखा अधिकृत टेक प्रसाद घिमिरेले जवाफ दिएका थिए ।
कार्यक्रममा नेपाली काग्रेस तिनाउका सभापती प्रेम पाण्डे, नेकपा एमालेका तिनाउ अध्यक्ष रोम बहादुर लम्तरी, नेकपा माओवादी केन्द्र तिनाउका अध्यक्ष दिनेश गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी प्रसाद बस्याल र राष्ट्रिय जनमोर्चाका कमल थापाले गाउँपालिकालाई नमुना र सम्बृद्ध, कृषि तथा पशुपालनमा आत्मनिर्भर बनाउन सबै पक्ष मिलेर लाग्नुु पर्ने बताए । समग्र क्षेत्रका लागि प्राप्त जिज्ञासा र सुझावहरुलाई मध्यनजर गर्दै कार्यान्वयन गर्दै जाने गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले प्रतिवद्धता जनाए । पाल्पा विकास केन्द्रको सहजीकरणमा भएको पालिकाको तेस्रो सार्वजनिक सुनुवाई कार्यक्रममा प्रवक्ता यादव अर्यालको स्वागत, सहजकर्ता किरण कौशलको सञ्चालनमा भएको थियो ।


                                        
                                        
                                        
                                        
                    
                    
                    