Shittalpati
माथागढीमा भुक्तानी लफडा : कर्मचारी माथि दाउरा प्रहारको प्रयास, मागे सुरक्षा, जनप्रतिनिधी समेत संलग्न रहेको आरोप 

पाल्पा (माथागढी), पाल्पाको माथागढी गाउँपालिकामा केही योजनाहरुको भूक्तानीको विषयलाई लिएर कर्मचारी माथि अभद्र व्यवहार भएको पाइएको छ ।  गत बुधबार केही उपभोक्ताहरुले योजनाहरुको भुक्तानी नदिएको भन्दै पालिकाको लेखा शाखामा कार्यरत कर्मचारी, प्राविधिक इन्जिनियर माथि अभद्र व्यवहार गरेको पाइएको हो ।

आर्थिक वर्षको अन्त्यमा योजना सम्पन्न हुँदा समेत कर्मचारीले भुक्तानी नदिएको भन्दै उपभोक्ताहरूले कर्मचारी माथि दाउरा प्रहारको प्रयास गर्नुको साथै अभद्र व्यवहार गरेको भिडियो समेत बाहिरिएको छ । लामो समय लेखा शाखा घेराउ गर्दै कर्मचारीलाई गालीगलौज गर्नुको साथै चिरुवा दाउरा प्रहार गर्न खोजेको भिडियोमा देख्न सकिन्छ । कर्मचारीले सुत्र प्रणालीमा देखिएको समस्याका कारण समयमा भुक्तानी हुन नसकेको र सुत्र चल्नसाथ काम हुने बताउँदै प्रतिकार गर्न खोजे पनि त्यहाँ पुगेका केही व्यक्तिहरुले लेखा अधिकृत सन्तोष दाहाल माथि दाउरा प्रहार गर्न खोजेको पाइन्छ । आफुहरुलाई बन्धक बनाएर भौतिक शरिर माथि आक्रमण गर्न खोजिएको र मार्नेसम्मको धम्की दिने गरेको लेखा अधिकृत दाहालले बताए । उनले भने‘ केही दिनदेखि लेखाको सुत्र प्रणालीमा समस्या आएको थियो,हामी प्रणाली सुधार हुने प्रतिक्षामा बसेका थियौं, सिष्टम चल्न साथ बाँकी योजनाका कामहरु हुुने भन्दै उपभोक्ता समितिलाई विश्वास्त दिलाउदै आएका थियौं, नियमित कार्य गरी बसेको अवस्थामा एक्कासी एक सय जना जति व्यक्तिहरु आएर घेराउ गरी कार्य कक्षमा ताला लगाई बन्दी बनाए ।’ जनप्रतिनिधिहरुको निर्देशनमा गुंडागर्दी शैलीमा आएर हामीहरु माथि आक्रमण गर्न खोज्ने र मार्ने धम्की दिने गरेको लेखा अधिकृत दाहालले शितलपार्टीलाई बताए । उनले आफु माथि ज्यान लिने सम्मको धाक धम्की दिएको र कोठामा धुनिएकै अवस्थामा बाहिरबाट लठ्ठीले घोचि भौतिक आक्रमण समेत गर्ने कार्य गरिएको बताए । दाहालले भने ‘पहिलेदेखि नै जनप्रतिनिधिले हामीलाई दवाब सिर्जना गर्दै आउनुु भएको थियो । हामीले ऐन, नियम अनुसार काम गर्न खोज्दा उहाँहरुले पटक –पटक हस्ताक्षेप गर्ने गर्नुहुन्थ्यो, तर हामीले ऐन, नियम अनुसार नै काम गर्ने गरेका थियौं, अहिले आएर उहाँहरुले त्यही कुरालाई लिएर हामी माथि आक्रमण गर्न लगाउनु भएको हो ।’ कर्मचारी माथि ज्यान मार्ने धम्की र आक्रमण हुँदा समेत अभिभावक जस्तो पालिका अध्यक्ष यम चिदीबाट कुनै सरंक्षण नभएको लेखा अधिकृत दाहालले गुनासो गरे । उनले भने ‘योजना तथा कार्यक्रमसँग सम्बन्धित भन्दा पनि असम्बन्धित व्यक्तिहरु आएर हामी माथि अभद्र व्यवहार गरे ।’   

असार २४ गते योजनाको भूक्तानीका क्रममा महालेखाको सुत्र ओभरलोड भएका कारण देशका अधिकांस स्थानीयतहमा भूक्तानीमा समस्या देखिएको थियो । त्यो समस्या माथागढीमा पनि देखिएको हो । सुत्र नचलेपछि समितिका खातामा भूक्तानी नभएको भन्दै केही वडा अध्यक्ष समेतको संलग्नतामा लेखा र प्राविधिक शाखाका कर्मचारी बन्दी बनाएर कुटपिट गर्ने प्रयासका साथै तथानाम गाली गलौच गरिएको थियो । घटना अत्यन्तै दुःखद् भएको प्रमुख प्रशासकिय अधिकृत दिनेश ज्ञवालीको बताए । लेखाका लागि सबै प्रक्रिया पुगेका भूक्तानीका फाईलहरुका भौचर उठी सकेको भए पनि सुत्र नचलेका कारण खातामा रकम नगएकाले प्राविधिक समस्या उत्पन्न भएको कुरा महालेखा र कोष तथा लेखा नियन्त्रण कार्यालयलाई समयमै जानकारी गराई सकेपछि २७ र २८ गते नै सबै भुक्तानी भई सकेको थियो ।

कर्मचारीले मागे सुरक्षा

पीडित कर्मचारीहरुले जनप्रतिनिधिहरुबाट नै सुरक्षाको नअनुुभूति नभएपछि जिल्ला प्रशासन कार्यालय पाल्पामा शान्ति सुरक्षाको लागि माग गरेका छन् । उनीहरुले असुरक्षाको अनुभूति गर्दै प्रशासनलाई सुरक्षा दिन निवेदन दिएका हुन् । प्रमुख प्रशासकिय अधिकृत दिनेश ज्ञवाली,लेखा अधिकृत सन्तोष दाहाल इन्जिनियर धर्मेन्द्र कुमार यादव, लेखापाल टिकाराम बस्याल लगायतका पीडितहरुले प्रमुख जिल्ला अधिकारी बन्धुुप्रसाद बास्तोला समक्ष सुरक्षाको माग गर्दै निवेदन दिएका छन् । उनीहरुले आषाढ महिनामा स्वाभाविक रुपमा कामको चाप हुने र आफुहरु निरन्तर रातीसम्म पनि योजनाकै काममा व्यस्त हुने गरेको अवस्थामा केही योजनाहरुको फाइल जनप्रतिनिधिकै दवाबमा छोटो समयमै सक्नुपर्ने हुँदा कार्यबोझ बढेको निवेदनमा उल्लेख गरेका छन् ।

कार्यबोझकै कारण निरन्तर काममा खटी योजनाहरुको काम सकिएको र केही समय सुत्र प्रणालीमा समस्या उत्पन्न हुँदा केही योजनाको भुक्तानीमा समस्या भए पनि काम हुने जनप्रतिनिधि र सेवाग्राहीलाई विश्वस्त पारेको उनीहरुले बताएका छन् । काम भइरहेका बेला एक्कासी आफुहरु माथि अभद्र व्यवहार भएकाले सुरक्षा दिन उनीहरुले प्रशासनलाई आग्रह गरे । पीडितहरुले वडा नं. ३ र १ का वडा अध्यक्षहरु र अन्य वडाका जनप्रतिनिधिहरुले समेत भिडमा गई अधिकांश गुण्डा प्रवृतिका व्यक्तिहरु भएको भिडलाई थप उत्तेजित पार्ने, कर्मचारीहरुलाई ठिक पार्नुपर्छ भन्ने अभिव्यक्ति दिने र गाउंँपालिका अध्यक्षले उचित रुपले रोक्ने प्रयास समेत नगरेको आरोप लगाएका छन् । गाउँपालिकामा उपस्थित भई सुरक्षित रही कामकाज गर्न सक्ने अवस्था नरहेको अनुरोध गर्दै उनीहरुले निर्धक्क भएर कानुन बमोजिमका कामकाज गर्न पाउने र शान्ति सुरक्षाको व्यवस्थाको प्रत्याभुति हुने वातावरण सहित दोषि उपर कानुन बमोजिमको कारवाही गर्न जिल्ला प्रशासन कार्यलयलाई आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी बन्धुुप्रसाद बास्तोलाले भने पीडितहरुको कुरा सुनिसकेको र घटनाको विषयमा पालिकाका जनप्रतिनिधिहरुलाई बोलाएर बुझ्ने प्रयास भएको बताए । उनले दुवै पक्षको कुरा सुनेर मात्र आवश्यक प्रक्रिया अगाडि बढाइने शितलपार्टीसँगको कुराकानीमा भने ।    

 सुरक्षाको माग गर्दै निवेदन दिएकोमा अध्यक्षको आपत्ति

 पीडित कर्मचारीहरुले सुरक्षाको माग गर्दै जिल्ला प्रशासनमा निवदेन दिएको विषयप्रति गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले आपत्ति जनाएका छन् । उनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीहरुबाट शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन पेश भएको भन्ने विषयमा विभिन्न सामाजिक सञ्जाल र समाचार सप्रेषण भई आएकोमामा गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । ‘सामाजिक सञ्जालहरुमा उल्लेख भए जस्तो पालिकामा कार्यरत प्रशासनिक तथा प्राविधिक कर्मचारीहरुलाई जनप्रतिनिधिहरुबाट काममा कुनै किसिमको दवाब सिर्जना हुने काम नभएको र आफ्नो बिवेकले ऐन, नियम अनुसार काम गर्न समेत निर्देशन भएको हुँदा समाजिक सञ्जालमा सम्प्रेषण भएका समाचारहरु तथ्यहिन, आधारहिन र झुठा रहेकोप्रति पालिकाको घोर आपत्ति रहेको छ’ उनले विज्ञप्तिमा भनेका छन् । कर्मचारीलाई अभद्र व्यवहार गर्न नदिन आफू पालिका बैठक रोकेरै सहजीकरण गर्न पुगेको अध्यक्ष चिदीले उल्लेख गरेका छन् ।

घटनाप्रति नेपाल निजामती कर्मचारीको ध्यानाकर्षण

यस्तै कर्मचारी माथि भएको घटनाप्रति नेपाल निजामती कर्मचारी युनियन पाल्पाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उसले एक विज्ञप्ति निकाल्दै जनप्रतिनिधि, सम्बन्धित योजना कार्यक्रमका उपभोक्ता समितिका पदाधिकारीहरुबाट कर्मचारीहरु माथि गाली गलौज, अपशब्द, अभद्र व्यवहार, भौतिक आक्रमण गर्ने प्रयास एवं ज्यान मार्ने धम्की समेत दिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो । ‘राष्ट्रसेवक कर्मचारीको मनोबल कमजोर हुने खालका गतिविधिहरू बन्द गरी कानुन हातमा लिने अराजक व्यक्ति तथा समूहलाई आवश्यक कानूनी कारवाहीका लागि माथागढी गाउँपालिका र सम्बन्धित सरोकारवालाहरूसँग जोडदार माग गर्दछौं’ अध्यक्ष रवि अर्याल र सचिव चन्द्र बहादुर वलीद्वरा जारी विज्ञप्तिमा  भनिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update