Shittalpati
रामपुरको काली आँपदेखि गौरीघाट सडक पुष्प मार्ग बन्दै

पाल्पा, जिल्लाको रामपुर नगरपालिका– ६ को कालीआँपदेखि गौरीघाटसम्मको सडकलाई पुष्प मार्गको रुपमा विस्तार गर्न थालिएको छ । ४ किलोमिटर लम्बाई रहेको यहाँको सडकको दायाँ बायाँ विभिन्न्न फूल प्रजातिका बिरुवा लगाई पुष्प मार्गको रुपमा विस्तार गर्न लागिएको हो ।

यहाँको सडक छेउछाउमा सौन्दर्य प्रदान गर्ने हरिया विरुवाहरु लगाईएको छ । बुधबारदेखि यहाँ वृक्षरोपण  गर्न थालिएको हो । रामपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय लगायतका व्यक्तिहरुले त्यहाँ पुगेर बिरुवा लगाएका छन् । नगरलाई हरियाली र सुन्दर शहरका रुपमा विकास गर्ने गरी काम अगाडि बढाइएको नगर प्रमुख रमणबहादुर थापाले बताए । उनका अनुसार नगरले आर्थिक वर्ष २०७९/०८० देखि कार्यक्रम बनाएर अघि बढेको हो । कालीआँपदेखि विजयपुर, तालपोखरा, तिलकपुर हुँदै गौरीघाटसम्मको सडकलाई अहिले पुष्प मार्गको रुपमा अघि बढाईएको र नगरका अन्य सडकहरुलाई पनि सोही अनुसार अघि बढाउने योजना रहेको नगर प्रमुख थापाले बताए ।

सौन्दर्यका लागि मात्र नभै पर्यावरण र मानव जीवनका लागि समेत बोटविरुवाको महत्वपूर्ण भूमिका रहेको भन्दै नगरका पार्क, चौतारो र सार्वजनिक स्थान संरक्षणसँगै बिरुवा रोप्नको लागि प्रोत्साहन गरिने उनले बताए । बजार क्षेत्रको सौन्दर्यका लागि गमलामा विरुवा रोप्ने कार्यलाई प्रोत्साहन गर्न समेत यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने समेत नगर प्रमुख थापाले उल्लेख गरे । उनले वृक्षरोपण गरिएका बोट बिरुवाको हेचाह गर्नु र हुर्काउने सबैको जिम्मेवारी रहेको बताए । ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले वडाका अन्य सडकहरुमा पनि माटो अनुसार फलफूलका बिरुवा लगाउने कार्यलाई निरन्तरता दिदै जाने बताए । उनले दिगोविकासको अवधारणा अनुसार पर्यावरणका लागि विरुवा रोपिएको जानकारी दिए । यहाँ रामपुर सव डिभिजन वन कार्यालयबाट प्राप्त गोल्डमोहर, पारिजात, शिरिष र कपुर प्रजातिको बिरुवा  रोपिएको छ । रामपुर सव डिभिजन वन कार्यालयका कर्मचारी केश बहादुर खण्डलुले वन कार्यालयले सौन्दर्य प्रदक ६ सय बिरुवा प्रदान गरेको र आवश्यक परे प्राविधिक सहयोग  समेत गर्ने बताए । पुष्प मार्ग वृक्षरोपण उपभोक्ता समितिका अध्यक्ष केदार अधिकारीले पुष्प मार्गलाई नमुना सडकको रुपमा चिनाउन लगाईएका बिरुवा हुर्काउनु पर्ने बताए । ६ का वडा सचिव चिन्तामणी भण्डारीले वडा गौरवको रुपमा रहेको पुष्प मार्गको लागि नगरपालिका बाट ७ लाख रुपैयाँ विनियोजन भएको र सोही रकमबाट बिरुवा लगाउने, विरुवा संरक्षणका लागि घेराबार निर्माण गर्ने कार्य भैरहेको जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update