Shittalpati
तानसेनबाट श्रम स्वीकृति

पाल्पा, जिल्लाको सदरमुकाम तानसेनबाट श्रम स्वीकृति दिन सुरु गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार तानसेन नगर सरकारले नगरपालिकाबाटै श्रम स्वीकृतिको व्यवस्था गरेको हो ।

नगरपालिकाले पहिलो पटक तानसेनबाट श्रम स्वीकृतिको काम सुरु गरेको छ । नगरप्रमुख सन्तोषलाल श्रेष्ठले सेवाग्राही प्रेमबहादुर कार्कीलाई पहिलो पटक श्रम स्वीकृतिको निस्सा दिएर सेवाको शुभारम्भ गरेका हुन् । वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि बुटवल वा काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता रहेको थियो । नगर सरकारले नगरबाटै श्रम स्वीकृति दिन थालेपछि भने त्यो बाध्यता हटेको छ । ‘यसअघि अन्यत्रै गएर श्रम सम्बन्धी स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झन्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्याे, तर अब नगरपालिकाबाटै सेवा सुरु भएपछि सहज हुन्छ, पैसा र समय दुवैको बचत हुन्छ । झन्झिटिलो पनि हुँदैन’ नगर प्रमुख श्रेष्ठले भने । श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसा सम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने छ । 

सरकारले आगामी वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका लागि सबै प्रकारको श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाट भर्न सकिने व्यवस्था गरेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गएको व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गर्ने गरेको थियो । श्रम मन्त्रालयको उक्त निर्णय अनुसार २०८० वैशाख ३ गतेबाट पालिका अन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत वैदेशिक रोजगारीमा जानेको अनलाइनबाट श्रम स्वीकृतिको आवेदन दिन थालिएको हो ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update