Shittalpati
रैनादेवी छहराले ल्यायो ६५ करोड १८ लाखको बजेट, ३ जिल्ला जोड्ने सडकलाई प्राथमिकता  

पाल्पा, रैनादेवी छहरा गाउँपालिकाले आगामी बर्षको लागि ६५ करोड १८ लाख ५६ हजार बजेट  विनियोजन गरेको छ । पालिका उपाध्यक्ष युवराज थापाले कुल बजेटको चालुतर्फ ४८ करोड ५८ लाख, ९ हजार र  पुँजीगततर्फ १६ करोड ६० लाख ४६ हजार १४ औं गाउँसभामा पेश गरेका हुन् । पालिकाले आगामी बर्ष ९० लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको छ ।

गाउँपालिकाले रुपन्देहीसँग सडक सञ्जाल जोड्न सुन्दरेढुङ्गा, जुठापौवा, सालझण्डी मोटरबाटोलाई स्तरउन्नतीको लागि संघीय समपुरक र गाउँपालिकाबाट गरी २ करोड ७० लाख बजेट विनियोजन गरेको  उपाध्यक्ष थापाले सभामा जानकारी गराए ।  गाउँपालिकालाई गुल्मी जिल्लांसँग  जोड्न संघ, प्रदेश र गाउँपालिकाबाट एकमुष्ट २ करोड, पालिकालाई अर्घाखाँचीसँग सडक सञ्जालले जोड्न धजाबान्ने, पेलावास तालपोखरा सडक स्तर उन्नतीको लागि ५० लाख, मेहलछेँढा, बुढीदमार सडक निर्माणको लागि ५० लाख,  ताङसिंगल –सोमादी, सिदेश्वर मोटरबाटो स्तरउन्नतीको लागि ५० लाख विनियोजन गरेको छ । सडक पुर्वाधारका ठूूला ५ वटा योजनाको पालिकाले ६ करोड २० लाख  विनियोजन गरेको हो ।

कृषि उत्पादनमा  आत्मनिर्भरता, कृषि व्यवसायमा विविधिकरण तथा यान्त्रीकरण गरी गाउँमै आयआर्जन बढाउन समग्र कृषि र पशु क्षेत्रमा २ करोड ३६ लाख ४४ हजार बजेट विनियोजन गरेको छ । सहकारीलाई उत्पादनसँग जोड्ने, सहकारीबाटै मासु र दुध बिक्री वितरण गर्ने किसानलाई प्रोत्साहनको  लागि ११ लाख बजेट विनियोजन गरेको छ ।

रैनादेवी छहरा गाउँपालिकालाई पर्यटकीय हबको रूपमा विकास गर्न रैनादेवी मन्दिरको विकासको साथै सबै वडामा पर्यटकीय पुर्वाधार निर्माणको लागि ६५ लाख छुट्टाएको छ ।  पालिका भित्र नमूना क्याम्पस बनाउन भैरव बहुमुखी क्यामपसको लागि ५ लाख, प्रत्येक वडाका माध्यमिक विद्यालयमा  नर्स कार्यक्रमको निरन्तरता, पालिका भित्रका ई.सि.डी.तथा कार्यालय सहयोगीको तलबमा मासिक ५ सय  र लेखा कर्मचारीहरुको तलवमा १ हजार  बृद्धि गरेको छ ।

पालिकाका सम्पुर्ण  नागरिकको निःशुल्क स्वास्थ्य बीमाको लागि  ४ लाख, सुत्केरी आमा पोसिलो खाना कार्यक्रमको लागि ५ लाख, डाक्टरसहित घर घरमै गई जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणको लागि १ लाख ५० हजार, आर्थिक अवस्था कमजोर भएका पालिकाबासीलाई लक्षित गरी स्वास्थ्य उपचार सहयोग कोषमा ३ लाख, महिला स्वयम सेविकाको लागि मासिक यातायात २ सय ५० ले वृद्धि गरी मासिक १ हजार ५ सय,  स्वास्थ्यमा आकस्मिक कक्ष स्थापना कार्यक्रमको लागि २२ लाख विनियोजन गरेको छ । 

अध्यक्षसँग महिला, बालबालिका तथा जेष्ठ नागरिक कार्यक्रमको लागि १२ लाख,  उपाध्यक्षसँग युवा कार्यक्रमको लागि ९ लाख, महिला उद्यमशील कार्यक्रमको लागि ७ लाख, अति गरिब परिवारहरुको लागि कम्तिमा १० जनाको लागि हुने गरी साझा सुविधा केन्द्रको स्थापनाको लागि बजेट विनियोजन गरेको छ । आपतकालीन विपद् व्यवस्थापन कोषको लागि १५ लाख, ग्याविन जालीको लागि ५ लाख,  जनघनत्व बढी भएका स्थानमा डस्टविनको व्यबस्था समेत  बजेटमा गरेको छ ।

आर्थिक, सामाजिक, पर्यटन र पूर्वाधार, समृद्ध रैनादेवी छहराको मुल आधार, भन्ने नारालाई सफल बनाउन, पालिकाको कृषि उत्पादन फरक जिल्लामा सडक पुर्वाधार मार्फत  विक्रि वितरणको  लागि आगामी बर्षको बजेटमा ३ जिल्ला जोड्ने सडक सञ्जाललाई बजेटमा प्राथमिकतामा दिएको  प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताए ।

पालिका तथा वडा कार्यालयमा नागरिक हेल्प डेस्कको निर्माण र सञ्चालन एकिकृत घुम्ती शिविरका लागि ११ लाख, आउने आर्थिक बर्ष देखी दोश्रो चौमासिक भित्र योजना सम्झौता गरी कार्यसम्पादन गरीनुपर्ने व्यवस्थालाई कार्यान्वयन गर्न पालिकाले गाउँसभामा पेश गरेको छ ।  कृषि तथा पशु, खानेपानी तथा सरसफाई, रोग व्याधि सङ्क्रमण नियन्त्रण तथा विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सिँचाइ र स्थानीय पूर्वाधार,पर्यटन, वन र उद्योग, सामाजिक सुरक्षा र समावेशिकरण, सेवा प्रवाह, सुशासन प्रवद्र्धन र वातावरणको संरक्षणलाई प्राथमिकता दिई बजेट निर्माण गरेको  गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले बताए ।  १४ औ गाउँसभा पालिका अध्यक्ष भट्टराईको अध्यक्षतामा चलेको थियो ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update