Shittalpati
चार दलले गरे समाजवादी मोर्चा घोषणा

पाल्पा,चार कम्युनिष्ट घटकहरूले समाजवादी मोर्चा घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेकपा कम्युनिष्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरेका हुन् ।

चारदलका शीर्ष नेताले समाजवादी मोर्चा नेपालको सहमति पत्रमा हस्ताक्षर गरेका छन् । उनीहरुले राजनीतिक स्थिरताका लागि भन्दै पार्टी एकतासम्मको उद्देश्य राखेर साझा प्रतिबद्धतामा रहेर समाजवादी मोर्चा घोषणा गरेका हुन् । १५ बुँदे नीतिगत प्रतिबद्धता पनि जारी भएको छ । मोर्चा सञ्चालन गर्न तत्कालका लागि दुई तहको संरचना बनाउने तयारी छ । शीर्ष नेताहरू रहने संयोजन समिति र प्रत्येक राजनीतिक दलबाट प्रतिनिधित्व हुने गरी सचिवालय गठनको तयारी छ । काँग्रेस र एमाले पछि तेस्रो शक्ति बनाउने गरी समाजवादी मोर्चा निर्माण गरिएको हो । प्रतिनिधिसभामा माओवादीका केन्द्रका ३२, नेकपा एसका १० र  जसपाका १२ सांसद छन् । चार दलको  मोर्चा बनेसँगै सांसदको संख्या ५४ पुगेको छ ।  सरकारमा देखिएको अस्थिरता रोक्न र सबैलाई एकीकृत गरेर अगाडि बढ्न सहज होस् भनेर मोर्चा गठन गरिएको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update