पाल्पा, नेपालले अंग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसीयालीमा तानसेनमा निकालिने भगवतीको जात्राका दिन प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ । प्रदेश पाँचको बुधबार बसेको मन्त्रीपरिषद्को बैंठकले उक्त निर्णय गरेको हो । विश्वको भू–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिश साम्राज्यवादलाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा २ सय वर्ष अघिदेखि विजय उत्सवका रुपमा यो भगवती जात्रा निकालिदै आइएको छ । जिल्लामा जात्राका दिन सरकारी तवरबाट सार्वजनिक विदा दिनुपर्ने आवाज उठिरहे पनि विदा दिइने गरेको थिएन । प्रदेश सरकारले भने राष्ट्रिय गौरवको रुपमा रहेको भगवती जात्रालाई सार्वजनिक विदा दिने निर्णय गरेको मुख्य मन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।
प्रदेश सरकारले यो सँगै २०७७ सालमा छ दिन विदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री कार्यालयका अनुसार ति छ दिनको विदा ४ दिन प्रदेशभरीका लागि एउटै रहेको छ भने एक दिन स्थानीय तहले दिन पाउने छन । अर्को एक दिन भने निश्चित पर्व मनाउने समुदाय र ठाउँका लागि तोकिएको छ । त्यसरी छुट्याइएको विदामा बकरईद, माघ १ गते र २ गते माघी विदा, फागुन ३ गते प्रदेश स्थापना दिवस रहेका छन् । त्यसैगरी स्थानीय तहको निर्णयबाट हुने गरी एक दिनको विदा छुट्याइएको छ । निश्चित पर्व मनाउने समुदाय र ठाउँलाई केन्द्रित गरेर १ दिन विदा छुट्याइएको छ । रुकुम रोल्पामा मनाइने भूमे पूजा, थारु समुदायलाई लक्षित गरी बडकवा अतवारी पर्वलाई लक्षित गरि विदा छुट्याइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।


