Shittalpati
आज मगर जातिको भूमे पर्व

पाल्पा, मगर समुदायको प्रमुख चाड मध्ये भूमे (भुम्या) पर्व एक हो । मगर समुदायले यो पर्व आज धुमधामसँग मनाउँदै छन् । तीन दिनसम्म मनाइने यो पर्व भूमिको पूजा गरी नाचगान गरेर मनाउने गरिन्छ । मगर जातिले परापूर्वकालदेखि आफू बसेको ठाउँको भूमि र भूमि देवताको पूजा गर्ने प्रचलनलाई आफ्नो मुख्य चाडका रूपमा मान्दै आएको छ ।

हिउँदेबाली भित्र्याइसकेर वर्षेबाली लगाउने बेला भूमि तथा भूमि देवता नरिसाउन् र सबै फसल राम्रो होस् भन्ने कामनाका साथ मगर समुदायमा असारे सङ्क्रान्तिदेखि साताभर भूमि पूजा गर्ने चलन रहेको छ । भूमि पूजाको अवसरमा देवतालाई बलि दिने, देवस्थानहरूमा गएर नाचगान गर्ने र थकाइ मार्ने परम्परा रहिआएको छ । मगर समुदायले यो पर्वलाई नयाँ वर्षका रूपमा समेत मनाउने गरेका छन् । मगर समुदायको भावना, पहिचान र एकतासँग जोडिएको हुँदा यो मगरहरूको मुख्य चाड हो । मगर जातिको यो पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक विदा समेत दिएको छ । प्रदेश सरकारले रोल्पा र रूकुम पूर्वका सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिएको हो । लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै आज असार १ गते शुक्रबार रोल्पा र रूकुम पूर्वमा सार्वजनिक विदा दिइएको जानकारी गराएको छ । भूमे पर्वमा टाढा–टाढा गएका दाजुभाइसमेत घरमा जम्मा भई रमाइलो गर्ने परम्परा रहेको छ ।

मगर समुदायको भूमे पर्वमा विभिन्न पाँच प्रकारको बाजा बजाएर महिला, पुरुष, बालबालिका नाचेर यो पर्व मनाउने गर्छन् । यस पर्वलाई नयाँ कामको सुरुवात गर्ने दिन, वर्षभरिको कामको योजना बनाउने दिनका रूपमा पनि लिने गरिन्छ । मगर समुदायको बाहुल्य रहेका क्षेत्रमा विशेष गरी यो पर्व मनाउने गर्छन् । भूमे पर्वमा सबै मगर सँगै भेला भएर रमाइलो गर्दा आफूहरूको दुःख, पीर बिर्सने र मन खुसी हुने विश्वास छ । यस्तै मगर जातिले पृथ्वी अर्थात् भूमिलाई आफ्नो मुख्य देवताका रूपमा मानेर पुज्ने चलन छ । भूमिको पूजा भएपछि देवता खुसी हुने र त्यसपछि अनिकाल नलाग्ने, पृथ्वीमा कुनै पनि प्रलय नआउने र दुःखको नास भई पृथ्वीबासी सबैमा खुसी आउने जनविश्वास छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update