Shittalpati
रामपुरमा निःशुल्क लोक सेवा आयोग तयारी कक्षा

पाल्पा, जिल्लाको रामपुर एक महिने निःशुल्क लोकसेवा आयोग तयारी कक्षा भएको छ ।  लोक सेवा आयोगमा अभिरुची राख्ने र परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गरी सञ्चालन गरिएको कार्यक्रम बुधबार एक कार्यक्रमका विच समापन गरिएको हो । 

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुखरमण बहादुर थापाले निजामती सेवा मार्फत जनताको सेवा गर्न ईच्छुक विद्यार्थीहरुलाई आधार स्तम्भ निर्माणका लागि कार्यक्रम सञ्चालन गरिएको बताए । साथै उत्साह र मेहनतका साथ अध्ययन गरेर लोक सेवा आयोगको परिक्षामा उत्तिर्ण गरी निजामती सेवामा लाग्न आग्रह गरे । आगमी दिनमा पनि विद्यार्थीहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे । यस्तै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले लोक सेवा आयोगको सामान्य आधारभुत ज्ञान बारे जानकारीका लागि कक्षा सञ्चालन गरिएको भन्दै निजामती सेवामा प्रवेशका लागि अझ मेहनतका साथ अध्ययन गर्न आग्रह गरे ।

रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा १ का अध्यक्ष कपिलबहादुर खाँणले निजामती सेवामा काम गर्ने यस क्षेत्रको कर्मचारी रहेको बताउँदै यसका लागि नगरपालिकाले थप कार्यक्रम सञ्चालन गर्ने बताए । कार्यक्रममा रामपुर नगरपालिका वडा ५ का अध्यक्ष दुर्गाप्रसाद पोखरेलले पछिल्लो समय विद्यार्थीहरु बैदेशिक रोजगारीमा जानु भन्दा लगनशिलताका साथ अध्ययन गरेर निजामति सेवा मार्फत जनताको सेवामा लाग्न आग्रह गरे । कार्यक्रममा शहिद बहुमुखी क्याम्पस स्ववियू उपसभापति दर्पण सोती, सहभागी विद्यार्थी प्रतिक्षा पोखरेलले बोल्दै नगरपालिकाले निशुल्क रुपमा लोक सेवा आयोग तयारी कक्षा सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रमुख रमणबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन रामपुर नगरपालिकाका प्रेस सल्लहाकार दानु हिस्की मगरले गरेका थिए । तयारी कक्षामा नगर भित्रका करिब ७० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update