Shittalpati
‘रक्तदान जीवनदान’ वक्तृत्वकलामा  प्रथम भईन रामपुरकी घिमिरे

पाल्पा, विश्व रक्तदान दिवशको अवशरमा नेपाल रेडक्रस सोसाईटी पाल्पाले आयोजना गरेको जिल्लास्तरीय रक्तदान जीवनदानमा युवाहरुको भूूमिका वक्तृत्वकला प्रतियोगितामा रामतुल्सी माध्यमिक विद्यालय रामपुरकी सुरक्षा घिमिरे प्रथम भएकी छन् ।  यसै गरी  न्य होराइनज विधालय तानसेनकी कृशिला ढुंङ्गाना दोस्रो भएकी छन्  भने दमकडा नमुना माध्यमिक विधालयकी सपना भण्डारी तेस्रो भएकी छन् । 

प्रतियोगितामा प्रथम भएकी रामतुल्सी माविकी  घिमिरेले नगद ५० हजार, दोस्रो भएकी न्यू होराइजन स्कुलकी ढुंङ्गानाले नगद ३० हजार, र तेस्रो भएकी दमकडा नमुना विद्यालयकी भण्डारीले  नगद २० हजार पुरस्कार पाएकी छन् ।

विजेताहरुलाई मन्त्रीपरिषदका पुर्व अध्यक्ष खिलराज रेग्मी , प्रदेश सदस्य खेम बहादुर सारु, रेडक्रस पाल्पाका सभापति बाबुराम कार्कीले पुरस्कार वितरण गरे । प्रतियोगितामा जिल्लाका १० वटै पालिका बाट १९ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । पालिका भित्रका विद्यालय विद्यालयबिच प्रतिष्पर्धा बाट उत्कृष्ट भएका विद्यार्थीहरुलाई जिल्लास्तरीय वक्तृत्व प्रतियोगितामा सहभागी गराइएको थियो ।  

पाल्पाका ३ वटा ठूूला अस्पतालमा दिनहुँ रगतको अभाव भएपछि रेडक्रस पाल्पाले युवा विद्यार्थी मार्फत जिल्लाको १० वटै पालिकामा रक्तदानको विषयमा जनचेतना फैलाउन, गाउँ–गाउँमा रक्तदान समुह निर्माण गर्न जिल्लास्तरीय वक्तृत्व प्रतियोगिता सञ्चालन गरेको हो । पाल्पामा करीव ३ हजार ५ सय युनिट रगत आवश्यक पर्ने गरेको छ । रेडक्रस पाल्पाले जिल्लामा रगत अभाव हुन नदिन रक्तदान रोष्टर गु्रप अभियान शुरु गरेको छ । रेडक्रस पाल्पाले घर घरका युवाहरुमा रक्त समुह पहिचान गर्ने, सो कार्यलाई व्यवस्थित गर्न लागेको छ ।

कार्यक्रममा बोल्दै मन्त्रिपरिषदका पूर्व अध्यक्ष रेग्मीले रक्तदानमा मानिसहरुलाई सहभागी गराउने, विद्यार्थीमार्फत जनचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिताले सहयोग पुगेको बताए । वर्तमान शिक्षा प्रणाली नेपाल सुहाउदो नभएको, शिक्षक, विद्यार्थी, अभिभावकहरुले शिक्षामा राजनीति गरेको, सरकारले समेत वर्तमान शिक्षा नितीप्रति ध्यान नदिएको मन्त्रीपरिषदका पुर्व अध्यक्ष रेग्मीले जोड दिए । प्रदेश सभासदस्य खेमबहादुर सारुले रेडक्रसले शुरु गरेको रक्तदान अभियानले सबैपक्षबाट साथ सहयोग पाउने बताए । विद्यार्थीमार्फत रक्तदान अभियान जिल्लाको कुना कुनामा पुग्ने प्रदेश सभासद सारुले बताए ।

कार्यक्रममा तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, रेडक्रस पाल्पाका निवर्तमान सभापति बुद्धि प्रसाद शर्मा, पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, पाल्पाली संगम अमेरीका पाल्पाका संयोजक दिनेश घिमिरे लगायतले रेडक्रसले शुरु गरेको रक्तदान अभियान सफल बनाउन सहयोग गर्ने बताए । प्रतियोगीताका लागि पाल्पाली संगम अमेरीका, ब्लड डोनेसन अमेरीकाले आर्थिक सहयोग गरेका थिए । प्रतियोगितामा टंक पन्तको संयोजकत्वमा गणेश ज्ञवाली र शिखा पहाडीले निर्णयको भूूमिका निर्वाह गरेका थिए । रेडक्रस पाल्पाका सभापति बाबुराम कार्कीको सभापतित्व, उपसभापति भिमसेन कार्कीको स्वागत र मन्त्री केशवराज नेपालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update