Shittalpati
प्रेस युनियन पाल्पाद्वारा प्रकाशित श्रमजीवीको अंक सार्वजनिकीकरण

पाल्पा,प्रजातान्त्रिक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाद्वारा प्रकाशित श्रमजीवी बुलेटीनको अंक सार्जनिकीकरण गरिएको छ । युनियनले बुधबार एक औपचारिक कार्यक्रमकाबिच बुलेटीनको वर्ष १०, अंक १ को सार्वजनिकीकरण गरेको हो ।

 युनियनले विगत १० वर्षदेखि बुलेटीनलाई निरन्तरता दिदै आएको छ । युनियनको नवौं अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले बुलेटीनको पहिलो अंक सार्वजनिकीकरण गरेको हो । बुलेटीनको नेपाली काँग्रेस पाल्पाका कार्यवाहक सभापति झपेन्द्र गहिरे, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, माधव अर्याल, युनियनका जिल्ला अध्यक्ष मन गहिरे लगायतले संयुक्त रुपमा सार्वजनिकीकरण गरेका हुन् । बुलेटीनको अंक सार्वजनिकीकरण गर्दै प्रमुख अतिथि तथा नेपाली काँग्रेस पाल्पाका कार्यवाहक सभापति झपेन्द्र गहिरेले युनियनले बुलेटीनलाई निरन्तर दिर्दै आएकोमा खुसी व्यक्त गरे । उनले श्रमजीवी वर्ग र युनियनको संस्थागत विकासमा बुलेटीनले महत्वपूर्ण योगदान पुर्याउँदै आएकोले बुुलेटीनलाई निरन्तरता दिन युनियनलाई आग्रह गरे । युनियन पाल्पा शाखाका संस्थापक सभापति समेत रहेका गहिरेले पत्रकारहरुको सुरक्षाको लागि राहतकोष स्थापना गर्न युनियनलाई सुझाव दिए । उनले भने,‘पत्रकार विरामी हुँदा होस् वा दुर्घटनामा पर्दा उनीहरुका लागि कम्तीमा पनि जोखिम बहन गर्न सक्ने गरी राहतकोष स्थापना गर्नुहोस् , त्यसका लागि मैले १० हजार सहयोग गर्ने छु ।’

विशिष्ट अतिथि प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव आर्यालले आफु युनियनको सचिव हुँदा शुभारम्भ गरिएको श्रमजीवीले अहिले पनि निरन्तरता पाएकोमा गर्व लागेको बताए । उनले युनियनमा आवद्ध पत्रकारहरुको सुरक्षाको लागि दुर्घटना बीमाको व्यवस्था गर्न युनियनलाई सुझाव दिए । उपाध्यक्ष अर्यालले भने,‘पत्रकारहरुको सुरक्षाका लागि कम्तीमा दुर्घटना बीमा गरिदिन सकियो भने युनियनप्रति सदस्यहरुको अपनत्व बढ्ने छ ।’ युनियनले बीमाको व्यवस्था गरेमा आफुले बीमा राहतकोषमा १० हजार सहयोग गर्ने समेत उनले प्रतिवद्धता व्यक्त गरे । अर्यालले पत्रकार महासंघको सदस्यता सुदृढीकरणमा युनियनले सहयोग गर्ने केन्द्रीय निर्णय भएको बताए । नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले  मिडियाहरु अत्यन्त चुनौतीकाबिच गुज्री रहेका बेला श्रमजीवी बुलेटीनले निरन्तरता पाउनुु ठूलो कुरा रहेको बताए । पछिल्लो समय पत्रकारहरु राजनीतिक नेतृत्व तहमा पुगेका बेला पत्रकार महासंघले सदस्यता सुदृढीकरणको अभियान चलाएको प्रति लक्षित उनले पत्रकारले राजनीतिक गर्न हुने तर समाचारले राजनीति गर्न नहुने धारणा व्यक्त गरे । युनियन पाल्पा शाखाका पूर्व सभापति समेत रहेका भट्टराईले  भने,‘विचारले आफुु कुनै राजनीतिक दलको नेतृत्व तहमा भए पनि मिडिया चलाएर निरन्तर समाचारहरु लेख्दै आएको छु, समाचारले कहिल्यै पनि राजनीतिक गरेको छैन् ।’ काँग्रेस पाल्पाकी सचिव सुनिता अधिकारीले श्रमजीवीहरुको पक्षमा निरन्तर कलम चलाउन पत्रकारहरुलाई आग्रह गरिन् । उनले प्रेस युनियन पार्टीको शुभेच्छुक संस्था भएकाले पनि काँग्रेस र लोकतन्त्रलाई बलियो बनाउने दिशामा लाग्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, माथागढी गाउँपालिकाका अध्यक्ष यम चिदी, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, रिब्दीकोट गाउँपालिकाकी उपाध्यक्ष कान्ता अधिकारी लगायतका जनप्रतिनिधिले मिडिया र स्थानीय सरकारबचि नङ मासुको जस्तै सम्बन्ध हुनुपर्ने भन्दै स्थानीय मिडिया सवलीकरणमा स्थानीय सरकारले समेत चासोका साथ हेरेको बताए ।  

कार्यक्रममा युनियनका निवर्तमान सभापति भरत शर्मा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पत्रकार महासंघका जिल्ला सचिव यज्ञमूूर्ति तिमिल्सीना, नेपाल ट्रेड युनियनका जिल्ला उपाध्यक्ष सुनिल बूढाथोकी लगायतले समाचारमा कपी पेष्टलाई निरुत्साहित गर्दै सोध, खोज र अनुसन्धान गरी सत्य तथ्य समाचार मात्र संप्रेषण गर्न पत्रकारहरुलाई आग्रह गरे । युनियनका उपाध्यक्ष तथा श्रमजीवीका प्रधान सम्पादक रामचन्द्र रायमाझीले श्रमजीवी बुलेटीनले श्रमजीवी पत्रकारसँगै संगठित तथा असंगठित रुपमा रहेका श्रमिक वर्गहरुका आवाजहरुलाई समेट्दै आएको बताए । युनियनका अध्यक्ष मन गहिरेको अध्यक्षता, उपाध्यक्ष विष्णु खनालको स्वागत, सचिव विष्णु घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update