Shittalpati
आज विश्व रक्तदाता दिवस मनाइदैं

पाल्पा, आज विश्व रक्तदाता दिवस मनाइदैं छ । रक्तदान सम्बन्धी विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो ।

मानव रगत समूह (ब्लड ग्रुप) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो । दिवसलाई नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरुलाई सम्मानगर्ने अवसरको रुपमा समेत लिने गरिएको छ । रगत शरिरमा रहेको रातो तरल पदार्थ हो । यो प्लाज्मा र रक्त कोषहरुको समिश्रणबाट बनेको हुन्छ । यसले शरीरका कोषहरुमा ग्लुकोज, एमिनो एसिड लगायतका पोषक तत्वहरुसँगै अक्सिजन लगायतका आवश्यक पदार्थहरु पुर्याउने काम गर्दछ ।  यसले कार्वन डाइक्साइड, यूरिया, ल्याक्टिक एसिड जस्ता काम नलाग्ने तत्वहरुलाई बाहिर निश्कासन गर्न समेत सहयोग गर्दछ । मानव शरीरमा औसत ५ दशमलव ५ लिटर रगत रहेको हुन्छ । मानिसको कुल वजनको ७ प्रतिशत रगत हुन्छ । रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष ० दशमलव ७ प्रतिशत रहेको हुन्छ । मानिस जिवित रहनका लागि रगत नभइ नहुने पदार्थका रुपमा रहेको हुन्छ । 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update