Shittalpati
रामपुरका महिलाहरुलाई बाख्रा उपहार प्रदान

पाल्पा, रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत महिलाहरुलाई बाख्रा उपहार प्रदान गरिएको छ । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग, पछौटेपन उन्मूलन समाज बेस नेपालको सहजीकरणमा सञ्चालनमा रहेको परियोजना मार्फत बाख्रा उपहार प्रदान गरिएको हो ।

जीविकोपार्जनमा सहजता ल्याउन रामपुर नगरपालिका वडा ३, ६, ७, ८, ९ र १० का ९ वटा महिला समुहलाई एक कार्यक्रमका विच ६० वटा बाख्रा उपहार प्रदान गरिएको हो । रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने सहित वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बाख्रा उपहार हस्तान्तरण गर्नु भएको थियो । बाख्रा उपहार प्रदान गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले महिलहरुलाई आत्मनिर्भर तथा स्वावलम्बी बनाउन बाख्रा उपहार प्रदान गरिएको बताए । उनले प्राप्त बाख्राको उचित हेरचाह गर्दै व्यवसायिक बन्न आग्रह गरे । नगरपालिकामा बाख्रापालनको राम्रो सम्भावना रहेकाले विगतमा बाहिरबाट बाख्रा आयात गरी वितरण गरिएपनि यस पटक नगर भित्रका कृषकहरुबाट खरिद गरी विक्री गरिएको प्रमुख थापाले बताए ।

रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना संयोजक सञ्जु परियारले माग र आवश्यकताको आधारमा बाख्रा वितरण गरिएको जानकारी दिइन् । जस अनुसार वडा ३ को अकलादेवी स्वावलम्बन महिला समुहलाई १९ वटा, वडा ६ को कालिका स्वावलम्बन महिला समूहलाई ५ वटा, नवदुर्गा स्वावलम्बन महिला समूहलाई ३ वटा, वडा ७ को मौलाकालिका स्वावलम्बन महिला समूहलाई ८ वटा, मिलिजुली स्वावलम्बन महिला समुहलाई ३ वटा, शित्तल नगर स्वावलम्बन महिला समुहलाई ५ वटा, वडा ८ को दिदीबहिनी स्वावलम्बन महिला समुहलाई ५ वटा, वडा ९ को सशक्तिकरण स्वावलम्बन महिला समूहलाई ४ वटा र वडा १० को मिलनसार स्वावलम्बन महिला समूहलाई ९ वटा बाख्रा प्रदान गरिएको थियो । रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना संयोजक सन्जु परियारले गरेकी थिइन् ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update