Shittalpati
बालमैत्री नगर घोषणाको तयारीमा रामपुर : सूचकका बारेमा छलफल गर्दै

पाल्पा, जिल्लाको रामपुर नगरपालिका बालमैत्री नगर घोषणाको तयारीमा जुटेको छ । उसले आगामी ३ वर्षभित्र नगरलाई बालमैत्री नगर घोषणा गर्ने गरी तयारीलाई तिव्रता बनाएको छ । नगरपालिकाले अहिले बालमैत्री घोषणाका लागि आवश्यक सूूचका बारेमा विभिन्न व्यक्ति, संघ संस्थाहरुसँग छलफल तथा अन्तक्र्रियालाई तिव्रता दिएको पाइन्छ ।

नगरपालिकाले बालमैत्रीका विषयमा स्थानीय शासन पालिकास्तरीय २ दिने अभिमूखीकरण कार्यक्रम गरेको छ । नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्नका लागि अबलम्बन गर्नु पर्ने सुचकका विषयमा  व्यापक छलफल भएको नगरपालिकाका प्रेस सल्लाहकार दानु हिस्कीले बताए । उनका अनुसार नगरलाई २०८३ साल मंसिर ५ गते भित्र बालमैत्री नगर घोषणा गर्ने गरी सरोबारवाला निकाय र लक्षित वर्गसँग छलफल, अन्तक्र्रिया जस्ता कार्यक्रमहरुलाई नगरले तिव्रता दिएको छ । छलफलमा सहभामगीहरुले बालमैत्री नगरपालिका घोषणा गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले नगरपालिकालाई बालमैत्री बनाउनका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताएका छन् । नगरपालिकाले निर्माण गर्ने नीति तथा कार्यक्रम र योजना बालबालिकामैत्री बनाउनुपर्नेमा उनीहरुको जोड छ । कार्यक्रममा नगर प्रमुख रमण बहादुर थापाले दीर्घकालिन विकास र समृद्धिका लागि बालमैत्री नगरको आवश्यकता रहेको औल्याउँदै सबैको सहयोग जरुरी रहेको बताए । उनले भने,‘अन्य क्षेत्रमा गरेको लगानी र बजेट क्षणिक समयको लागि देखावटी हो, बालबालिकाको क्षेत्रमा गरेको लगानीले नगरको दीर्घकालीन विकास हुन्छ, यसमा दुई मत छैन्, त्यसैले हामी नगरलाई बालमैत्री नगर बनाउन जुुटेका हौं ।’ 

उपप्रमुख बाल कुमारी थापाले बालबालिकाको चहाना र आवश्यकतालाई मध्य नजर गरेर नगरको नीति तथा कार्यक्रम तय गर्ने बताएकी छन् । नगर सल्लाहकार कृष्णप्रसाद पौडेलले सबैको समन्वय मार्फत चाँडै बालमैत्री घोषणा गर्नुपर्नेमा जोड दिए ।  कार्यक्रममा नेकपा एमाले रामपुरका अध्यक्ष बिष्णुप्रसाद रेग्मीले मानव पुँजीको विकासले मात्र समाज रुपान्तरण सम्भव हुने भन्दै बालबालिकामा लगानी बढाउन नगर सरकारलाई  आग्रह गरे । नगर प्रवक्ता कपिल बहादुर खाँणले दीर्घकालीन समुन्नतिका लागि बालबालिकामा लगानी बढाई योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागी बालबालिकाको तर्फबाट सुप्रिया पराजुलीले नगरले तय गर्ने नीति तथा कार्यक्रममा बालबालिकाको क्षेत्रलाई मध्यनजर गर्न आग्रह गरिन् । कार्यक्रमको सहजिकरण प्रज्ञा परामर्श सेवा केन्द्रका अध्यक्ष शालिकराम पाण्डे र सचिव शालिकराम पोखरेलले गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेको स्वागत, प्रेस सल्लाहकार दानु हिस्की मगरको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update