Shittalpati
कृषि पत्रकारिता पुरस्कारबाट शितलपाटीकर्मी पोखरेल पुरस्कृत

पाल्पा, प्रेस चौतारी नेपाल पाल्पा शाखाले २४ औं स्थापना दिवसको अवसरमा नव जनचेतनाकर्मी तथा शितलपाटीकर्मी कृष्ण पोखरेललाई पुरस्कत गरेको छ । पत्रकार पोखरेल भद्रबहादुर स्मृति कृषि पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । पुरस्कृत पोखरेललाई प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज प्रदिप आचार्य, जिल्ला अध्यक्ष कृष्ण कार्कीले लगायतले नगद, सम्मानपत्र सहित दोषल्ला ओढाई पुरस्कृत गरे ।

यसै गरी शाखाले अन्य ७ जना पत्रककारलाई समेत पुरस्कृत गरेको छ । सितादेवी स्मृती पर्यटन पत्रकारिता पुरस्कारबाट मेचिकाली दैनिकका पाल्पा संवाददाता नेत्र गैरे र सामुदायिक रेडियो मुक्तिनाथका स्टेशन म्यानेजर भुवन रायमाझी,  गीता स्मृती पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो मदनपोखराकी रिमा सोमै, रेडियो पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो मदनपोखरामा कार्यरत विजयकुमार बौडेल, शेष कुमारी लोकप्रसाद स्मृति शिक्षा पत्रकारिता पुरस्कारबाट पृथ्वी टेलिभिजन रामपुरममा कार्यरत कृष्ण पौडेल, पुतली रुप नारायण स्मृती पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो रामपुरकी बन्दना पोखरेल, तुलसा तुलबहादुर स्मृती सामाजिक विकास पत्रकारिता पुरस्कारबाट हरि बहादुर वि.क सुवास पुरस्कृत भएका छन् ।

शाखाले शाखाका संस्थापकहरुलाई समेत सम्मान गरेको छ । संस्थापक अध्यक्ष केशवराज नेपाल, भगवान भण्डारी, कमलराज तिमिल्सीना, श्रीधर नेपाल, कृष्ण घिमिरे र गीता नेपाललाई सम्मानपत्र सहित दोषल्ला ओढाएर सम्मान गरिएको हो । प्रेस चौतारी नेपाल केशवराज नेपालको नेतृत्वमा २०५७ सालमा पाल्पामा स्थापना भएको थियो ।

सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले पत्रकार महासंघ भित्र दलका नेता, कर्मचारी, शिक्षक, व्यापारी लगायत सबै क्षेत्रका व्यक्तिहरुले ओगटेको तर पत्रकारिता गर्ने संख्या अल्पमतमा भएकाले पेशालाई शुद्धिकरणका लागि प्रेस चौतारीले सुर्खेत साधारण सभामा एकसुत्रिय आवाज उठाई कार्यान्वयनको चरणमा गएको बताए । पत्रकार महासंघले बनाएको मापदण्ड भन्दा विपरित जिल्लाबाट सदस्यता सिफारिस भएमा केन्द्रले पुनः हटाउने गरी शुुद्धिकरणको अभियानलाई कडाइका साथ कार्यान्वयन गरिने अध्यक्ष बस्नेतले बताए । अहिले सामाजिक सञ्जालमा भ्रम, तथ्यहिन समाचारको प्रभाव बढ्दै गएकाले यस्तो गलत अभियानलाई चिर्न सामाजिक सञ्जालकै प्रयोगबाट सफल भइने भएकाले त्यसमा सक्रिय भएर लाग्न पत्रकारहरुलाई अध्यक्ष बस्नेतले जोड दिए ।

नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले पत्रकारीताको मर्म भावना, नैतिक मूल्य मान्यतामा आधारित रहेर सत्य, तथ्य र निष्पक्ष भई काम गर्न सुझाव दिए । प्रेस चौतारीका केन्द्रीय सचिव प्रदिप आचार्यले महासंघले जारी गरेका नियम र मापदण्ड भन्दा विपरित कुनै पनि सदस्यलाई महासंघमा राख्ने कोशिस कहि कतै बाट भएमा कडा प्रतिवादमा उत्रिने बताए । प्रेस चौतारी पाल्पा शाखाले गरेका काम देशभरीका शाखाले सिको गरेकाले पाल्पा देशकै नमुना शाखा भएको उनले बताए । पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले केन्द्रले पठाएको मापदण्ड अनुसार नै पाल्पामा सदस्यता शुद्धिकरण गरिने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, प्रेस चौतारी लुम्बिनी प्रदेश सह इन्र्चाज कमलराज तिमिल्सीना, नेपाली काँग्रेसका कार्यवाहक सभापति झपेन्द्र गहिरे, नेकपा माओवादी केन्द्रका सचिव मथुरा ढकाल, राप्रपा पाल्पाकी माया बज्राचार्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी लगायतले पुरस्कृत तथा सम्मानित व्यक्तिहरुप्रति बधाई दिदै पत्रकारीता दलिय आस्था भन्दा माथि उठेर गर्नुपर्नेमा जोड दिएका थिए । राजनीतिक दलहरुले सबै क्षेत्रमा हस्तक्षेप गरेको कारण मुलुकमा दलिय भावना बाहिर जान नसकेको बक्ताहरुले जोड दिए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष भगवान भण्डारी, प्रेस युनियन पाल्पाका सभापति मन गहिरे, पाल्पा अस्पताल विकास समितिका  अध्यक्ष गुराँश आत्रेय, पाल्पा उद्योग वाणिज्य संघका सचिव विदुर घिमिरे, चौतारी पाल्पाका संस्थापक अध्यक्ष केशवराज नेपाल, प्रेस चौतारी तानसेन नगर कमिटीकी अध्यक्ष गुणवती केसी, पुरस्कृत व्यक्तिहरुकोतर्फबाट बन्दना पोखरेल लगायतले समाजमा परिवर्तन ल्याउने सबैभन्दा प्रभावकारी माध्यम पत्रकारीता भएकाले स्वच्छ, निष्पक्ष भई दलिय आस्थामा नलागी काम गर्न सुझाव दिए । पुरस्कार वितरण तथा संस्थागत सम्मान कार्यक्रम शाखाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, केन्द्रिय सदस्य एवं जिल्ला इन्चाज मिलन विकको स्वागत, सचिव नारायण न्यौपानेको सञ्चालनमा भएको थियो । 

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update